काठमाडौं, ३२ जेठ २०८० । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने भएको छ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार नयाँ संस्करणको एनएसएलको मिति घोषणा गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले दोस्रो संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने तय गरेको हो ।
एन्फाले एनएसएल आयोजना गर्न आयोजकसँग गत पुसमा आठ वर्षको सम्झौता गरेको थियो । प्रतियोगितामा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याइएको हो ।
दोस्रो संस्करणमा विराटनगर सिटी एफसी, वीरगञ्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुने छ ।
पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो ।