Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

वीरगञ्ज, १२ मंसिर  । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको धोविनी गाउँपालिका वडा नं। ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं। १३ डेरा गरी बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक)लाई पक्राउ गरेको हो । पाण्डेय वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

उनले राष्ट्रिय अनुसन्धानको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा योग्यता अनुसारको जागिर लगाइदिने भनी विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठगी गर्नका लागि पाण्डेयले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरुलाई दिएका थिए ।

उनले बाराको सुवर्ण गाउँपालिका वडा नं। ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं। २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं। १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम लिएका थिए ।

प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार पाण्डेयविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया