Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १६ जेठ २०८० । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको छ ।

पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो खेलमा संयमित प्रदर्शन गर्दै जित हात पारेको हो ।

यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्बाधिक अविजित २९ रन बनाइन् । उनले छक्का प्रहार गरी टिमको जित निश्चित गरेकी थिइन् ।

रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको सुरुवाती साझेदारी गरेका थिए । बलिङमा मलेसियाका एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । मलेसियाका ओभरन विनीफ्राइड दुराइसिंगम र वान जुलियाले ३१ रनको सुरुवाती साझेदारी गरेका थिए । बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले २ तथा कविता कुँवर र इन्दू बर्माले १–१ विकेट लिए ।

नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । दोस्रो खेलमा जित हात पारेसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । दुई टोलीबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

 

तपाईको प्रतिक्रिया