Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १४ जेठ २०८० । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट ९हवाई इन्धन भर्ने० गरी सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति पाएसँगै असार पहिलो सातादेखि उडान नियमित हुने छ ।

उहाँले भन्नुभयो, “निगमले असार ६ गते पहिलो उडान गर्ने गरी गरेको प्रस्ताव अनुसार बिहीबार र शनिबारका लागि उडान अवतरण गर्ने समय (स्लट) पाएको छ । सोही आधारमा अस्ट्रेलियाको नियमन निकायसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाइसकेका छौँ ।” भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवातर्फ समेत छनोट प्रक्रिया चलिरहेको बताउँदै उहाँले दुई साताभित्र सबै प्रक्रिया पूरा गरेर उडान सुरुवात गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँले उडानका लागि निगमले जिएसए (जनरल सेल्स एजेन्ट) छनोट, सिङ्गापुर र सिड्नीमा इन्धनका लागि कम्पनी छनोट प्रक्रियाको काम गरिरहेको उल्लेख गर्नुभयो। सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ ९मेन्टनेन्स, मर्मत र अपरेसन० छनोट भइसकेको बताउँदै उहाँले हाललाई वाइडबडी ‘ए’ ३३० विमानबाट उडान हुने जानकारी दिनुभयो। दुई लाख हाराहारी नेपाली बसोबास गर्दै आएका अस्ट्रेलियामा सिधा उडान नहुँदा लामो ट्रान्जिटमार्फत आहोरदोहोर गर्नुपर्ने बाध्यता छ। सिधा हवाई सेवा सुचारु भएसँगै सिड्नीबाहेकका सहरमा जाने यात्रुलाई यही बाटो प्रयोग गर्न सहज हुने छ। सिड्नी–काठमाडौँको हवाई दूरी लगभग १० हजार किलोमिटर रहेको छ। सिधा उडान सञ्चालनमा आएसँगै सिड्नी आसपासका क्षेत्र क्यानबेरा, गोलवन, वागावागा, डब्बोलगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ।

सिधा उडान सञ्चालनमा आएसँगै नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। हाल नेपालले ४० वटा अन्तर्राष्ट्रिय मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ। सम्झौता भएका मुलुकमध्ये सबैभन्दा टाढाको गन्तव्य जापानको नारितामा हाल निगमले सातामा तीन उडान गर्दै आएको छ। निगमले कोरोना महामारीमा अस्ट्रेलियाको राजधानी क्यानबेरामा तीन पटक चाटर्ड उडान गरेको थियो।

मलेसिया–भैरहवामा छुट

जेठ २९ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्न लागेको निगमले मलेसिया–भैरहवाको एकतर्फी भाडा ११ हजार ४६१ रुपियाँ तोकेको छ। त्यस्तै मलेसिया–भैरहवा–काठमाडौँका लागि १२ हजार ३४६ रुपियाँ भाडादर तोकिएको निगमले जनाएको छ। हाललाई प्रवर्धनात्मक रूपमा तोकिएको उक्त भाडा दर मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो। काठमाडौँ–क्वालालम्पुर हवाई भाडा भने साबिककै दररेटमा हुने छ। निगमले न्यारोबडी ‘ए’ ३२० जहाजमार्फत जेठ २९ गते काठमाडौँ–क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ उडान तालिका सार्वजनिक गरेको छ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया