काठमाडौं, ४ जेठ २०८० । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भए ।त्यसैगरी भिजन गुरागाई, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कृत गजलकारहरुलाई कार्यक्रमका सभापति तथा प्रमुख अथिति लगायत अतिथिहरुले नगद, प्रमाण प्रदान गरेका थिए । पुरस्कृत गजलकारहरुमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । सान्त्वना पुरस्कार स्वरुप २० हजार प्रदान गरिएको थियो । कार्यक्रममा गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरु गरिरहेको जानकारी दिनुभएको थियो ।
मुलुकका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी गजल महोत्सवका लागि ४ सय ५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो ।