Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, २५ वैशाख २०८० । पेरुको एक सुनखानीमा आगलागी भएपछि भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ। यो दुर्घटनामा दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ।

दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ। बाँकी अन्यलाई जीवितै उद्दार गर्न सम्भावना लगभग समाप्त भएको अधिकारीहरुले बताएका छन्। एरिक्पा क्षेत्रको ला एस्पेरान्जा नामक सुनखानीमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ।

दुर्घटनाग्रस्त खानीको अध्ययनका लागि ३० जना विशेषज्ञ अधिकारीहरुलाई घटनास्थलतर्फ पठाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। खानी रहेको पहाडी क्षेत्रबाट आगो र धुँवाको मुस्लो निस्किएका दृश्यहरु सार्वजनिक भएका छन्।

खानीमा आगलागी भएको समय कामदारहरू जमिनको सतहबाट करिब ८० देखि १०० मिटरको गहिराईमा काम गरिरहेको अनुमान गरिएको छ। खानी दुर्गम क्षेत्रमा रहेको र मानव बस्तीबाट निकै टाढा रहेकाले पनि तत्काल अग्नी नियन्त्रणको गर्न कठिन भएको थियो।

दुर्घटना भएको खानी क्षेत्रबाट नजिकको प्रहरी चौकी पनि करिब डेढ घन्टाको दूरीमा रहेको छ। यस्तै खानी क्षेत्रबाट नजिकको शहर पुग्न पनि कयौं घन्टा लाग्ने अधिकारीहरुले बताएका छन्।

 

तपाईको प्रतिक्रिया