Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १९ वैशाख २०८० । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

सोमबार टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरू भएको थियो । मंगलबार थप ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।

युएईका लागि आसिफ खानले ५४, आर्यान लाक्राले २३, कप्तान मुहम्मद वासिमले ११ तथा वसिल हमिदले १० रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २र२ तथा गुलसन झा,सोमपाल कामीले समान १र१ विकेट लिए ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका गुल्शन झाले अविजित ६७ र भिम सार्कीले अविजित ३६ रन बनाए ।

युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए ।

युएईलाई पराजित गरेर नेपालले पहिलो पटक एसिया कप खेल्ने भएको छ । एसिया कपमा स्थान बनाएको नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता नेपाल समूह ‘ए’ मा तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।

एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

 

तपाईको प्रतिक्रिया