काठमाडौं, १६ वैशाख २०८० । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो।
उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छँदा २३६ रनमा अलआउट भयो। २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउदा खेल वर्षाले रोकिएको थियो।
अब उपाधिका लागि युएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ। यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।