Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौं, ६ वैशाख २०८० । फिल्म निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै दुःख मनाउ गरेका छन् ।

सुब्बाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफ्नी छोरीलाई उनी पढ्ने विद्यालयले गलत व्यवहार गरेको भन्दै गुनासो पोखेका हुन् ।

सुब्बाकी छोरी जावलाखेलमा रहेको डिएभी सुशील केडिया विश्व भारती स्कुल मा नौ कक्षामा पढ्दै थिइन् । पढाइमा अन्य विद्यार्थीभन्दा कमजोर भएर फेल भइन् । छोरीको नतिजा लिन गएकी सुब्बाकी श्रीमती र छोरीलाई गिज्याइयो । उनीहरु घर आएर आफूसँग रोएको सुब्बाले स्टाटसमा उल्लेख गरेका छन् ।

‘भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ ‘यसको बुवा खै, किन नआएको’ भनी सोधियो रे । नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन् । भाइस प्रिन्सिपलसहित अरु दुई जनाले गिज्याएर हाँस्दै होच्याएर, हेपेर ‘यो बच्चलाई हामी पढाउन सक्दैनौं, अन्त स्कुल लानू । यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनँ’ भनेछन् ।’ सुब्बाले स्टाटसमा लेखेका छन् ।

सुब्बाले अगाडी लेखेका छन्, ‘पहिला पनि जोशी सरले पढेर केही गरीखान सक्दैन, बरु एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ भने भन्दै आमाछोरी दुवै मसँग रोए ।’

यो कुरा सुनेर आफूलाई रातभरी निन्द्रा नलागेको, मनमा अनेक कुरा खेलेको र आफैसँग रीस पनि उठेको उनले बताएका छन् । आफूले भोलिपल्ट विद्यालय गएर छोरीको ट्रान्सफर मागेको सुब्बाले उक्त स्टाटसमा लेखेका छन् ।

सुब्बाले आफ्नी छोरीले गायन, पेन्टिङ, नृत्य, अभिनयमा रुची राख्ने गरेको र फिक्सन पढ्न पनि रुचि राख्ने गरेको उल्लेख गरेका गर्दै छोरीलाई पढाउने अर्को विद्यालयको खोजीमा रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया