Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा,  ९ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाएको स्थानमा नजाने कर्मचारीको जागिर जाने बताएका छन् । उनले कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्बाट लोकसेवा गएको र छिटै जारी हुने दाबी गरे ।

मन्त्री पण्डितले अध्यादेश जारी भएपछि खटाएको स्थानमा नजाने कर्मचारीको जाने स्थान घरमात्र हुने दोहो¥याए । झापाको भद्रपुरमा जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय सरकार सञ्चालन उपलब्धि र चुनौती विषयक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
उनले कर्मचारीलाई काम गर्ने वातावरण सरकारले बनाउने र प्रोत्साहन गर्दै खटाए पनि आनाकानी गर्ने कर्मचारीको दिन गएको चेतावनी दिए ।

सरकार कर्मचारी समायोजनाका विषयमा गम्भीर रूपमा लागेको दाबी गर्दै मन्त्री पण्डितले अपुग कर्मचारी लोकसेवा आयोगमार्फत पूर्ति गर्ने बताए । नेपाल भनेको काठमाडौंमात्रै बुझ्ने प्रवृत्ति कर्मचारीमा अझै रहेको उल्लेख गर्दै खटाएको ठाउँमा नजाने प्रवृत्ति मुख्य समस्याका रूपमा रहेको उनको भनाइ छ । मन्त्री पण्डितले संघीय निजामती सेवा ऐन एक महिना अघिदेखि नै मन्त्रिपरिषद्मा छलफल चलिरहेको बताउँदै एक किसिमले अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले स्थानीय सरकारको कर्तव्य, चुनौती र समस्या प्रस्तुत गरेका थिए । जिल्ला समवन्य समिति र स्थानीय तह समस्या नै समस्याले गुज्रिएको उनले बताए ।

कार्यालय प्रमुख फेरिरहने, न्यून कर्मचारी, सूचना र प्रविधिमा काम गर्ने जनशक्ति अभाव, आवश्यक बजेट विनियोजन नहुनु, जिससबाट ठेक्का लगाइएका योजना अलपत्र पर्नुलगायत समस्याले जिसस र स्थानीय सरकारमा अन्योल सिर्जना भएको पोर्तेलले जनाए ।

कार्यक्रम उपस्थित झापाका १५वटै स्थानीय तहका जनप्रतिनिधिले प्रमुख र उपप्रमुख बीचमा कामको स्पष्टता नभएको कारण समस्या सिर्जना भएको बताएका थिए । वडा कार्यालयलाई आर्थिक कारोबारको जिम्मेवारी नदिँदा कार्यपालिकामा निर्भर रहनु पर्ने अवस्था रहेको जनप्रतिनिधिले गुनासोे गरे ।

तपाईको प्रतिक्रिया