Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

भरतपुर, ९ मंसिर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्नातक तहमा अन्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयमा नर्सिङको पढाइ हुन लागेको हो ।

बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ कलेजको उद्घाटन गरे । क्यान्सर अस्पताल र पोखरा विश्वविद्यालयको संयुक्त आंगिक कलेजका रुपमा नर्सिङ पढाइ सुरु गर्न लागिएको हो । “संयुक्त प्रयासमा पढाइ सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यो ऐतिहासिक दिन सावित हुनेछ,” पूर्वप्रधानमन्त्री दाहालले भने, “क्यान्सर विरुद्ध लड्ने मानिसको क्षमतालाई नयाँ उचाइमा उठाउने जिम्मेवारी सबैको काँधमा आएको छ ।”

उनले क्यान्सर रोगबारे पढाइ सुरु हुनु सकारात्मक कदम भएको चर्चा गरे । “यो अस्पतालले राष्ट्रियमात्रै होइन, दक्षिण एशियामै विशेष महत्व राख्छ,” उनले भने, “यसले जति राम्रो काम गर्छ, त्यतिनै यो रोग विरुद्ध लड्ने सामथ्र्यको पनि वृद्धि हँुदै जानेछ ।” अस्पताल निकै उतारचढाव, विवाद र कचिंगल बेहोर्दै क्रमशः सुधारको दिशामा अघि बढेकोमा उनले खुशी व्यक्त गरे ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले क्यान्सर अस्पताललाई दक्षिण एसियाकै नमूना अस्पतालका रुपमा विकास गर्न लागिपर्ने बताइन् । “छेपारोले मियो थामेजस्तो गरेर अस्पताल प्रतिष्ठानका रुपमा विकास हुन सक्दैन,” उनले भनिन्, “वेथिति, अस्तव्यस्तता हटाउँदै नमूना अस्पतालका रुपमा विकास गर्न लाग्नैपर्छ ।”

अस्पतालका कार्यकारी निर्देशक डा। विजयचन्द्र आचार्यले शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्ने एक खुड्किलो पार गरिएको चर्चा गरे । “अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा परिणत गर्ने लामो समयदेखि उद्देश्यअनुसार एक खुड्किलो पार गरेका छौँ,” उनले भने, “आगामी वर्षमा क्यान्सर विषयमा उच्च अध्ययन गराउने प्रतिष्ठानका रुपमा विकास हुने अपेक्षा लिएका छौँ ।” उनले अस्पतालको भौतिक संरचना, जनशक्ति लगायतका आधार मान्दा प्रतिष्ठान बनाउन आवश्यक पूर्वाधार तयार भैसकेको दाबी गरे । अस्पतालले १ वर्षपहिले स्वास्थ्य मन्त्रालयमा अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउनुपर्ने मागसहित आवश्यक कागजपत्र पेश गरिसकेको छ ।

मन्त्रीपरिषद् बैठकले मन्त्रालयबाट सिफारिस भएको पत्रलाई पास गरेपछि मात्रै प्रतिष्ठानको ऐन बन्ने र सो ऐन पुनः संसद्बाट पारित हुनुपर्दछ । तर, प्रतिष्ठान बनाउने बहसलाई राज्यले चासो दिन सकेको छैन ।
अस्पतालका शैक्षिक कार्यक्रम विभाग प्रमुख डा। शिवजी पौडेलले क्यान्सर विषयका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नर्सिङ अन्कोलोजी पढाइ सुरु गर्न लागिएको बताए । उनका अनुसार आइतबारदेखि पढाइ सुरु हुनेछ । ३ वर्षे कोर्ष अनुसार ६ महिना क्यान्सर सम्बन्धी अध्ययन गराइनेछ । उनका अनुसार २० कोटामध्ये ३ जना पूर्ण छात्रवृत्ति र १६ जना पूर्णशुल्कीय रुपमा भर्ना भएका छन् । विद्यार्थीलाई भरतपुर अस्पतालमा प्रसूति र बच्चाको उपचार र मानसिक रोगबारे चितवन मेडिकल कलेजमा प्रयोगात्मक अभ्यास गराइनेछ । ३ वर्षे पढाइ पूरा गर्न ६ लाख रुपैयाँ लाग्नेछ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments