Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौँ, ४ वैशाख २०८० । नेपाल विद्युत् प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटिदिएको छ । तोकिएको समयमा विद्युत् महसुल नतिरेपछि प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङस्थित सोना सिमेन्ट उद्योग र रोल्पास्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराइदिएको हो ।

कार्यालय प्रमुख हरि पाण्डेका अनुसार रकम भुक्तानीका लागि बारम्बर ताकिता गर्दा पनि भुक्तानी नगरेपछि लाइन काटिएको हो । “खपत भएको विद्युत्को रकम भुक्तानी नगरेपछि कानुनअनुसार दुई सिमेन्ट उद्योगको विद्युत् काटिएको हो,” उहाँले भन्नुभयो, “एउटै उद्योगको करोडौँ रकम उठ्न बाँकी भएपछि हामीले तदारुकता देखाएका हौँ ।” प्राधिकरणका अनुसार सोना सिमेन्ट प्रालिले मात्रै ७४ करोड ५९ लाख रुपियाँ भुक्तानी गर्नु बाँकी छ । सोमध्ये ३२ करोड ९४ लाख रुपियाँ डेडिकेटेडतर्फको हो भने करिब ४१ करोड ६६ लाख रुपियाँ यसबाहेककै हो ।

त्यस्तैगरी रोल्पा सिमेन्ट उद्योगले आठ करोड ८४ लाख रुपियाँ भुक्तानी गर्न नमानेपछि लाइन काटिएको हो । पाण्डेका अनुसार प्रदेश मातहत महसुल उठ्न बाँकी विभिन्न उद्योगमा ताकिता गरेपछि धेरै उद्योगले जरिवानासहित रकम भुक्तान गरेको तर उनीहरूले रकम तिर्न अटेरी गरेपछि बाध्यतावश लाइन काटिएको हो ।

तपाईको प्रतिक्रिया