Online Bichar
शनिबार, फाल्गुण १२, २०८० | Saturday, February 24, 2024

काठमाडौं, ४ वैशाख २०८० । चालू आर्थिक वर्ष २०७९/०८० को चैत महिनामा मात्र १ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

चैतमा सरकारले १ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयका अनुसार चैतमा लक्ष्यको ६९ दशमलव ३० प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

जसमा कर राजस्व बापत ९ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ संकलन भएको छ । त्यसैगरी गैरकर राजस्व बापत ११ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को चैतमा १ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत वर्षको चैतको तुलनामा यो वर्षको चैतमा कम राजस्व संकलन भएको छ । गत वर्षको चैतमा कर राजस्व बापत ९९ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको थियो । गैरकर राजस्व बापत ५ अर्ब १७ करोड रुपैयाँ संकलन भएको थियो ।

चालू आर्थिक वर्षको चैतमा भन्सार महशुल बापत १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर बापत चैतमा २५ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

अन्तःशुल्क बापत १२ अर्ब ७४ करोड, शिक्षा सेवा शुल्क बापत २० करोड ४१ लाख, आयकरबापत ३४ अर्ब ९१ लाख रुपैयाँ र अन्य प्राप्तिबापत चैत महिननामा ६५ करोड ८५ लाख रुपैयाँ सरकारलाई प्राप्त भएको छ ।चालू आर्थिक वर्षको चैत मसान्तसम्म सरकारलाई सात खर्ब १९ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जानकारी दिएको छ ।

मूल्य अभिवृद्धि कर अन्तर्गत उत्पादन, वस्तु बिक्री र वितरण, परामर्श तथा ठेक्का, पर्यटन सेवा संकलन, सञ्चार सेवा, बिमा, हवाई उडान लगायत पर्दछ । अन्तःशुल्क अन्तर्गत भने मदिरा, तथा सुर्तीजन्य पदार्थबाट प्राप्त हुने राजस्व पर्दछ ।

 

तपाईको प्रतिक्रिया