Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बाग्लुङ, ९ मंसिर  । बागलुङको ढोरपाटन नगरपालिका-९ नवी गाउँमा आगलागी हुँदा ३० घर जलेका छन् । आइतबार बिहान २ बजेतिर आगलागी भएको थियो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले बिहान ८ बजेमात्र आगो निभाएका थिए ।

शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जनाको टोली आगो निभाउन खटिएको थियो ।

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीयबासी घुम्ती बसाइका लागि तल्लो वोबाङ र अन्य ठाउँमा सरेको बेला आगो लागेको हो । तर आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले पूरै गाउँ खरानी हुनबाट भने जोगाएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए । अग्नि नियन्त्रक टोलीका अनुसार आगो जंगलतर्फ पस्न नदिएका कारण पनि ठूलो क्षति हुनबाट जोगिएको छ ।

आगोको चपेटामा ३० घरे भने परे । क्षतिको विवरण भने आइसकेको छैन । घुम्ती बसाइँ सरेका स्थानीयबासीलाई आगो लागेको खबर पठाइएको र उनीहरु फर्किएपछि क्षतिको विवरण प्राप्त हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति भएका घरहरुको संख्या बढ्न सक्ने छ ।

तपाईको प्रतिक्रिया