Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २९ चैत २०७९ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । गत जेठमै नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए ।

फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । करिब १० महिनापछि उनी पक्राउ परेका हुन् ।

गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बुधबार पक्राउ परेका शर्माविरुद्ध अनुसन्धान अगाडि बढेको बताए । पक्राउअघि शर्मा भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए । पछिल्लो समय शर्मा हरियाणा राज्यमा रहेको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया