Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

धनगढी, ९ मंसिर  । निर्मलाका बुवालाई बेहोस बनाएर गाडीबाट काठमाडौं पठाइयो लगिएको छ । असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो ।

यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो । विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै उनलाई विमान कम्पनीले लग्न मानेको थिएन । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

‘निर्मलाका बुवा, आमा र दुई जना आफन्तलाई गाडीबाट काठमाडौं पठाइएको छ,’ सहायक प्रजिअ भट्टले  भने ।

यसअघि चारै जनालाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाडौं पठाउने प्रयास गरिएको थियो तर विमानका कर्मचारीहरुले यज्ञराजलाई लैजान नसकिने बताएका थिए । बुद्ध एयर धनगढी शाखा प्रमुख बुधराम माझीले एक जनाका कारण अन्य यात्रुलाई समेत जोखिम हुने देखेपछि उनलाई नलगिएको बताए ।

‘यात्रुसँग असामान्य व्यवहार गर्ने, बर्बराउने, मनपरी हिँड्नेजस्ता व्यवहार गरेकाले सुरक्षाका कारण लग्न नसकिएको हो,’ माझीले भने, ‘एक जना यात्रुका कारण विमानका सबै यात्रुलाई जोखिम हुने देखेपछि पठाउन सकिएन ।’

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टका अनुसार यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिएका थिए । छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो ।

निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments