Online Bichar
आइतबार, जेठ १३, २०८१ | Sunday, May 26, 2024

काठमाडौं, २९ चैत २०७९ । ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । बी डिभिजनको च्याम्पियन बनेर हाल पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले लिगको बीचमा आज बालगोपाललाई प्रशिक्षक अनुबन्ध गरेको छ ।

चर्च ब्वाइजले सामाजिक सञ्जाल फेसबुकमार्फत महर्जनलाई प्रशिक्षक बनाएको जनाएको छ ।

यसअघि नेपाली मुलका अमेरिकन प्रदिप हुमागाईँलाई चर्च ब्वाइजले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर, वर्क परमिट नपाएपछि हुमागाईँले क्लब छाडेका छन् । हुमागाईँले छाडेपछि महर्जनलाई प्रशिक्षक नियुक्त गरिएको क्लबले जनाएको छ ।

ए डिभिजनको डेब्यु सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको चर्च ब्वाइज ३ जित र ४ बराबरीबाट १३ अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा छ । बिहीबार दशरथ रंगशालमा हुने फ्रेण्ड्स क्लब विरुद्धको खेलबाट बालगोपाल महर्जनले चर्च ब्वाइजको प्रशिक्षण सम्हाल्ने छन् ।

महर्जनले यसअघि थ्रीस्टार र मनाङ मर्स्याङ्दीको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् भने फ्रेण्ड्सको टेक्निकल कमिटीमा रहेर काम गरेका थिए । महर्जनको प्रशिक्षणमा नेपालले यू–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो भने सिनियर टिमबाट बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।

यस्तै, दुई वर्षअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि पनि जितेको थियो । यस्तै, पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलमा काठमाडौं रेजर्सलाई पनि उनले उपाधि दिलाएका थिए ।

 

तपाईको प्रतिक्रिया