Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

                                                            खगेन्द्र नेउपाने

अध्यक्षमा जिताको त अदक्ष हुँ भन्नुहुन्छ
सिंह दरबार भित्र पनि स्याल जस्तो बन्नुहुन्छ
कर्मचारी टेर्दैनन् रे बाहिर भने फूर्ती कस्तो
अफिसभित्र हाम्रो नेता ओइलाएको सूर्ती जस्तो ।
तीन बर्षमा अधिकारी तीनचार तले महल किन्छ
भ्रष्टाचारको प्याकेज बोकी नेतालाई नै धमास दिन्छ
तर पनि निरिह भै बेप्रमाण छ भन्नुहुन्छ
हाम्रो सामु नेतागिरी शेर जस्तै बन्नुहुन्छ ।
यति बाटो यति माटो बालुवा गिटी यति यति
कति भट्टी कति मस्ती मिटिङ बैठक कतिकति
बजेट पास गर्नुपर्दा डेस्टिनेसन कतै मिठो
मेरो हजुर जनताको भरोसा भो धूलो पिठो ।
नेता हुन त्यसै छैन क्षमताले बन्नु पर्छ
हाम्ले पनि हाम्रो नेता गौरवसाथ भन्नुपर्छ
गुलामीको लौरो टेकी लिडर राम्रो बनिंदैन
कामै गर्न नसक्नेलाई नेता पनि भनिंदैन ।

गौरादह झापा

तपाईको प्रतिक्रिया