Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

कञ्चनपुर,८ मंसिर ।अनसनमा बसेका निर्मला पन्तका बुवाको मानसिक अवस्था समस्याग्रस्त देखिएको छ । रात्रीकालिन समयमा समेत अनसन सुरु भएपछि उनले मानसिक सन्तुलन गुमाएका हुन । निर्मला पन्तकी आमाका अनुसार, राती अनसन बस्न थालेपछि उनी आफ्नै सुरमा बोल्ने, हिँडने गर्न थालेका छन् । यतिमात्रै होइन, उनी लुगा समेत फुकालेर हिँडने गरेका छन् ।

अनसनस्थलबाट निस्केर जथाभावी बोल्दै सडकमा हिँडन थालेपछि पन्तकी आमाले उनको उपचारका लागि अपील गरेकी छिन् ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यालगत्तै भारतबाट फर्केका निर्मलाका बुवाको अवस्था सामान्य नै भएपनि अनसनमा बस्न थालेपछि उनको मानसिक स्वास्थ्यमा परिवर्तन देखिएको निर्मलाकी आमाले बताईन ।

“पहिला घर बनाउँदा पनि यस्तै समस्या देखिएको थियो ।” निर्मला पन्तकी आमाले भनिन, “त्यतिबेला म पनि भेटन गएकी थिएँ । तर अहिले अलि बढी नै भएको छ, वहाँको उपचारका लागि सरकारले पहल गरिदिनु पर्यो ।” दिनभरी अनसनमा बस्दा बिभिन्न व्यक्तिहरुसँग भेट हुने र राती अनसनमा बस्दा समेत सुत्न नपाइने कारणले समस्या भएको हुनसक्ने आमाको भनाई छ । त्यसैपनि गहिरो निन्द्रा नपर्ने निर्मलाका बुवा राती अनसन बस्नुपर्ने भएपछि थप मानसिक तनावमा आएको हुनसक्ने उनको भनाई छ । केही महिला अधिकारकर्मीहरुको दबाबमा राती पनि अनसन बस्ने कार्यक्रम तय भएको थियो ।

गोजीमा विषादी सल्फास

यसैबीच निर्मला पन्तका बुवाको बारेमा डरलाग्दो तथ्य खुलासा भएको छ । अनसनस्थलमा बस्दै आएका एकजनाले दिएको जानकारी अनुसार, निर्मला पन्तका बुवाको गोजीमा विषादीका रुपमा प्रयोग गरिने सल्फास नामक औषधीको गोली भेटिएको हो । सल्फासलाई किरा लाग्नबाट जोगाउन गहुँलगायतका अन्न भण्डारको बेला प्रयोग गरिन्छ । यो घातक विषादी हो । चिकित्सकको प्रेस्किप्सन बिना यो किन्न पाईंदैन । मनसिकरुपमा सन्तुलित नभएका उनले कहाँबाट सल्फास ल्याए भन्ने कुरा खुल्न सकेको छैन ।

“उनी आफै सल्फास किनेर ल्याउन सक्दैनन ।” श्रोतले भन्यो, “सल्फास जसले पायो त्यसले किन्न पनि सक्दैन । तर उनको गोजीमा भेटिएपछि यसले डरलाग्दो संकेत गरेको छ ।” आखिर कसले राख्यो त गोजीमा सल्फास ? यो प्रश्न अहिले चौतर्फी उठेको छ । सल्फास राख्ने व्यक्तिले लुकाएर चुपचाप राखिएको हुनसक्ने अनुमान श्रोतको छ । “यदि भनेर दिएको भए उनले खाइसक्थे होलान तर यो नजानिदो तरिकाले राखिएको देखिन्छ ।” श्रोतको भनाई छ । निर्मला पन्तको हत्या भएको तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।

स्थानीय प्रसासनले अनसनको विषयलाई सामान्यरुपमा लिएको र अनसनको क्रममा समेत दुर्घटना हुनसक्ने सम्भावना नजरअन्दाज गरिएको आरोप श्रोतको छ । भोली अनसनकै क्रममा केही भइदियो भने यसले झन ठूलो समस्या निम्त्याउनेतर्फ प्रसासन चनाखो हुनुपर्ने उनले बताए । यसैबीच नेकपाका प्रदेश नेताहरुले निर्मलाका बुवाको उपचारका लागि पहल गर्न शीर्ष नेतृत्वसमक्ष छलफल गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया