काँकडभिट्टा, २५ चैत २०७९ । पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै सीमा नाका काँकडभिट्टामा सुरक्षा सतर्कतामा कडाइ गरिएको छ । नाकामा भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरूलाई स्वाब परीक्षण गरेर मात्र प्रवेश दिन थालिएको छ ।
काँकडभिट्टा नाकामा हाल दैनिक सयभन्दा बढी मानिसको स्वाब परीक्षण गरिरहेको हेल्पडेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजा बताउँछिन् । उनी भन्छिन्, २ महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपालीहरू, नेपालमा विभिन्न काम गर्न आउने भारतीय नागरिक, भुटान र बङ्गलादेशबाट नेपाल प्रवेश गर्नेलाई शङ्का लागे स्वाब टेस्ट गरिन्छ ।’ नाकामा स्वास्थ्यस्थिति बारे सोधपुछ गर्ने र सुरक्षाकर्मीहरूले नागरिकता लगायतका परिचय पत्र हेरेर नेपाल प्रवेश गर्न दिइरहेको छ ।
कोसी प्रदेशबाट खटिएकी देउजाले कर्मचारी अभाव भएकोले मेचीनगर नगरपालिकासँग थप कर्मचारी माग गरेको बताइन् । नाकामा हाल स्वास्थ्य चेक जाँचका लागि प्रदेशबाट १, स्वास्थ्य कार्यालय झापाबाट २ र मेचीनगर नगरपालिकाबाट ४ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । नेपालमा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला पर्न थालेपछि पूर्वी नाका काँकडभिट्टामा सुरक्षा सतर्कता बढाइएको हो ।