Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

शान्ति सुब्बा

गौरादह, १७ चैत २०७९ । झापाको गौरादह कृष्णे खोलामा निर्मित शवदाह स्थल समुदायलाई हस्तान्तरण गरिएको छ । गौरादह नगरपालिका-१ को माथिल्लो कृष्णे खोलामा नवनिर्मित शवदाह स्थल समुदायलाई शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

गौरादह नगरपालिका का नगर प्रमुख छत्रपति सुवेदीले शवदाह स्थल समुदायलाई हस्तान्तरण गर्नुहुँदै कृष्णे घाटमा अहिले निर्माण भएको शवदाह सहित १ र २ नं. वार्डमा २ वटा,  ७ र ८ नं. वार्डमा १/१ वटा र ९ नं. वार्डमा २ वटा शवदाह स्थल निर्माण गर्ने कार्य करिब सम्पन्न हुन लागेको बताउनुभयो । गेउरीया खोलामा १, रामचन्द्रे खोलामा २ र चान्दु खोलामा ३ वटा गरि नगरभरीका विशेषगरी बढी चाप हुने शवदाह स्थलहरुलाई व्यवस्थित ढंगले निर्माण गर्ने कार्यलाई अघि बढाएको बताउनुहुँदै आगामी वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको प्रमुख सुवेदीले बताउनु भएको छ ।

यस्तैगरी, विगतमा किरिया  घर निर्माण कार्यका लागि पनि पहल गरिने नगर प्रमुख सुवेदीले बताउनुभयो । शवदाह स्थललाई चाहिने आवश्यक जमिन हरिमाया लोहनीले उपलब्ध गराउनु भएको थियो ।

शवदाह स्थल निर्माण कार्यका लागि गौरादह नगरपालिका र वडा नं. १ ले आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । १३ लाख मा व्यवस्थित शवदाह स्थल निर्माण र त्यहाँ आवत जावत गर्ने बाटो ग्राभेल गरिएको गौरादह नगरपालिका का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । वडा कार्यालयको तर्फबाट सडक बत्ती समेत जडान गरिएको वडाध्यक्ष भण्डारीले बताउनु भएको छ ।

यस्तै, शवदाह स्थलमा मलामी जनहरुका लागि समाजसेवी कर्ण बहादुर कट्वालले करिब ११ लाख लागतमा र माथिल्लो कृष्णेघाट निर्माण समितीका अध्यक्ष खड्गराज थापाले आफ्नो स्वर्गीय बुवाको नाउँमा साढे चार लाख लागतमा विश्राम स्थल निर्माण गरिदिएका छन् । शवदाह स्थललाई तत्काल सञ्चालन गर्नका लागि मोटर जडान गरिसकिएको छ भने, केहि समय पछि खानेपनि जडान गरिने, मन्दिर निर्माण कार्य अघि बढाउने र शौचालय निर्माण गरिनुका साथै वरिपरी फुलबारी लगाएर आकर्षक घाट बनाइने वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । यस्तै उक्त खोलामा आउने बाढी का कारण कटान हुँदै आएकोले त्यसको निकासको लागि खोलाको छेउमा लगाइएको तार जालीलाई एक स्टेप माथि उठाएर व्यवस्थित गरिने कार्य छिटो भन्दा छिटो गरिने पनि जनाइएको छ ।

तपाईको प्रतिक्रिया