Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

चितवन, ६ मंसिर  । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सो कुरा बताएका हुन् ।

बिहीबार बिहान नै भरतपुर महानगरपालिका वडा नम्बर २४ को भवन उदघाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने आश्वासन दिए । उनले भने, ‘अहिले सरकारमा निकै गम्भीर रुपले यो समस्याको गम्भीररुपमा नीतिगत समिक्षा भइराखेको छ र केही समयभित्रै एउटा निष्कर्षमा पुगेर पूर्जा वितरणको काम या अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने छ ।’

उनले पाँच वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु पिच गर्ने दाबी गरे । ‘चुनावताका २४ नम्बर वडा पिच नै नभएको वडाको रुपमा चिनिन्थ्यो तर आज यो कार्यक्रममा म आउँदा बाटो पिच भएको देखेर गर्वको महसुस भयो,’ प्रचण्डले भने, ‘यो शुभसंकेत हो, सबै बाटाहरु पाँच वर्षभित्र पिच गरिसक्ने । एक वर्ष झण्डै बित्यो, अब चार वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु धुलामुक्त हुनेछन्, पिच हुनेछन् ।’

उनले त्यो कामको थालनी भरतपुर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकार तीनवटै तहबाट भइसकेको र निकै उत्साहपूर्ण तरिकाले अगाडि बढेको जानकारी गराए ।

उनले भरतपुर महानगरपालिका २४ नम्बर वडाको अव्यवस्थित बसोबास नै प्रमुख समस्या रहेको बताए । चितवनबाट निर्वाचित सांसदसमेत रहेका प्रचण्डले भने, ‘अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखेर हामीले केही समयभित्रै यो समस्याको समाधान गर्ने छौं । जसलाई तुरुन्तै लालपूर्जा दिन सम्भव छ, उनीहरुलाई लालपूर्जा वितरणको व्यवस्था गरिने छ, स्थानान्तरण गर्नुपर्ने अवस्था भएकालाई स्थानान्तरण गरिने छ, कुनै खास रसिद दिनुपर्ने अवस्था हो भने रसिद दिइने छ ।’

‘नारायणी र राप्ती नदी किनारमा तटबन्धसहितको रिंगरोड’

अध्यक्ष प्रचण्डले नारायणी र राप्ती नदीको किनारमा तटबन्धसहितको रिंगरोड डीपीआर तयार पारेर बहुबर्षीय योजना अन्तर्गत निर्माण गरिने बताए । प्रचण्डले भने, ‘तटबन्धसहितको रिंगरोड बनाउनका लागि डीपीआर तयार गरी छिटोभन्दा छिटो सम्पन्न गर्ने कुराले त्यति वैधानिकता र आधिकारिकता प्राप्त गरिसकेको थिएन, अस्तीको दिनमात्रै प्रधानमन्त्री निवासमा हामीले गम्भीर छलफल गरेर डीपीआर तयार पारेर बहुबर्षीय योजना अन्तर्गत तटबन्धसहितको रिंगरोड नारायणीको तीरैतीर र राप्तीको तीरको लागि सरकारले आधिकारिक बनायो । यो हामी सबैका लागि चितवनबासीका लागि निकै ठूलो र खुसीको कुरा हो ।’

गृहजिल्ला चितवनका बिभिन्न कार्यक्रममा व्यस्त रहेका प्रचण्डले विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका थिए । अध्यक्ष प्रचण्डले साझापुर माविमा अध्ययनरत अरुण माझी र पत्रुश मुसहरको गत वर्ष अभिभावकत्व ग्रहण गरेका थिए । बुधबार विद्यालयमा पुगेर उनले अरुण र पत्रुशको खाजा, कापी, किताव र अन्य आवश्यकीय शैक्षिक सामाग्रीबारे जिज्ञासा राखेका थिए ।

साझापुर माविको स्वर्ण महोत्सव उदघाटन कार्यक्रममा सहभागी प्रचण्डले सांसद विकास कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने घोषणा पनि गरे ।
उनले आफ्नो पहलबाट यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको जानकारी पनि गराए ।

तपाईको प्रतिक्रिया