Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

तनहुँ, ८ चैत २०७९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा पु-याउने गरी प्राधिकरणले तयारी गरिरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन उद्घाटनका क्रममा घिसिङले सरकारले निर्धारण गरेको सो लक्ष्य पूरा गर्न प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीमा व्यापक सुधार गरिरहेको बताउनुभएको हो ।

सो सबस्टेसनको घिसिङ र एसियाली विकास बैङ्क (एडीबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुस्वाले संयुक्त रूपमा सोमबार सबस्टेसनको उद्घाटन गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।

“सबै नेपालीको घरमा विद्युत् पु(याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौँ, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्,” घिसिङले भन्नुभयो, “योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौँ ।”

उद्घाटन कार्यक्रममा आवासीय नियोग प्रमुख कुस्वाले विद्युत् पहुँच विस्तारमा नेपालको प्रगति विश्वस्तरमै उत्कृष्टमा पर्ने बताउनुभएको थियो । “विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसतमा ०।८ प्रतिशत रहेकोमा नेपालको दर ४।३ प्रतिशत छ । विद्युत् प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौँ,” उहाँले भन्नुभयो । उहाँले नेपालको पूर्वाधार क्षेत्रमा एडीबीको लगानी निरन्तर रहने पनि बताउनुभयो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं.५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु(याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । सराङघाट सबस्टेसनमा ६र८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरूले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् ।

आयोजना प्रमुख बोधराज ढकालले तनहुँ जिल्ला सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दै दुई महिनाभित्र पुँजीकरणको काम सम्पन्न गरी आयोजना बन्द गरिने बताउनुभयो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो ।

 

तपाईको प्रतिक्रिया