Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ३ चैत २०७९ । रासायनिक मलको खरिदमा सरकारले दिँदै आएको अनुदान कटौती गरेको विरोधमा झापाका कृषकहरू आन्दोलित बनेका छन् । आन्दोलित बनेका कृषकहरूले शरीरमा मलको बोरा ओढेर बिर्तामोडको मुक्ति चोकमा शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । विरोध ¥याली प्रदर्शन गर्दै उनीहरूले हातमा प्ले कार्ड बोकेर रासायनिक मलको अनुदान कटौती गरेको निर्णय तत्काल फिर्ता गर, किसानलाई समयमै मल खाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज बिना धितो कृषि ऋण उपलब्ध गरा लगायतको नाराबाजी गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको आव्हानमा भएको प्रदर्शनमा जिल्लाभरिका कृषकहरूले सहभागिता जनाएको पार्टीका झापा सभापति उमेश खरेलले जानकारी दिए । ¥याली प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै जिल्ला सभापति खरेलले मल अनुदानको विषयमा किसानलाई पर्न गएको मार्काको विषयमा कँहीकतै आवाज नउठाइएको बेला झापाबाट दबाबमूलक विरोधसहितको आन्दोलनको सुरुवात गरेको बताए ।

त्यस्तै पार्टीका नेताहरु शम्भु सुस्केरा ढकाल, प्रकाश पाठक र सुरेशकुमार पोखरेललगायतले कोणसभा बोल्दै राष्ट्रलाई नै पाल्ने भूमिका निर्वाह गरेका कृषकहरूलाई राज्यबाटै आर्थिक विभेद र दमन गरेको भन्दै कटौती गरिएको अनुदान तत्काल फिर्ता गरी कृषकहरूलाई थप राहतसहितको कार्यक्रमहरू सरकारले ल्याउन माग गरेका छन् । कृषि बिमा निःशुल्क गर्न, ५० प्रतिशत भन्दा बढी अनुदान दिन, कृषि उत्पादन बढाउन र कृषि उद्योग स्थापना गर्न समेत उनीहरूले माग राखेका छन् ।

गत फागुन २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले मलमा दिँदै आएको अनुदान घटाउने निर्णय गरेको थियो । रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । कृषि मन्त्रालयले यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिने समेत बताइएको छ ।
सरकारले मलको अनुदान कटौती गरेसँगै मलको बजार मूल्य पनि बढेको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डिएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४०मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डिएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो । साबिकभन्दा अब युरिया प्रतिकिलो ११, डिएपी प्रतिकिलो ७ र पोटास प्रतिकिलो ९ रुपैयाँले महँगो पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया