Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

कञ्चनपुर, ५ मंसिर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै पीडित परिवार धर्ना बसेको १० दिन पुगिसक्यो । निर्मलाका बुवा यज्ञराजको स्वास्थ्य अवस्था पनि दिन प्रतिदिन बिग्रँदै गएको छ ।

पीडित परिवार र महिला अधिकारकर्मीले जतिसुकै दबाबका कार्यक्रम अघि बढाए पनि घटनाको अनुसन्धानमा भने अझै पनि ठोस प्रगति हुन सकेको छैन ।घटना भएको साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि पीडित परिवारले कात्तिक २५ देखि जिल्ला प्रशासन कार्यालयअघि अनिश्चितकालीन धर्ना सुरु गरेको थियो ।

‘प्रहरीले अहिले पनि सही तरिकाले अनुसन्धान गरिरहेको छैन, त्यही भएर धर्ना बस्नुपरेको हो,’ यज्ञराजले भने, ‘अनुसन्धानका नाममा टोलीमाथि टोली गठन भए तर उपलब्धि केही आएन ।’ उनले जस्तोसुकै अवस्था आए पनि अपराधी सार्वजनिक नभएसम्म धर्ना नछाड्ने अडान लिएका छन् ।

धर्नामा विभिन्न राजनीतिक दल स्थानीय र संघ संस्थाले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ ।
घटनाको अनुसन्धानकै क्रममा प्रहरीले ९ जनाको डीएनए परीक्षण गरिसकेको छ । तर हालसम्म कसैको पनि डीएनए मिलेको छैन ।

प्रहरीले यसअघि मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेका दिलीप विष्ट, अर्का युवक चक्र बडु, तत्कालीन एसपी डिल्ली विष्ट, उनका छोरा किरण र महेन्द्रनगरकै स्थानीय आयुष विष्टसँगै अन्य ४ जनाको डीएनए परीक्षण गरेको हो । पछिल्लो पटक परीक्षण गरिएको ४ मध्ये कुनैको पनि डीएनए नमिलेपछि प्रहरीको अनुसन्धानमा थप शंका पैदा भएको हो ।

प्रहरीले शंकास्पद अन्यको पनि डीएनए परीक्षण गर्ने तयारी गरिरहेको छ । यसप्रति पनि पीडित परिवार र स्थानीय सन्तुष्ट छैनन् । तर प्रहरीले भने आवश्यकता परे सयौंको डीएनए परीक्षण गर्न सकिने जनाएको छ । ‘अनुसन्धानका क्रममा शंकास्पद देखिएका सयौंको डीएनए परीक्षण हुन सक्छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले भने, ‘तत्काल कसैको पनि डीएनए परीक्षणको तयारी छैन ।’

प्रहरीले ‘न्यारो डाउन’ विधिबाट घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानको दायरा साँघुरिंदै गएको दाबी गरेको छ । तर अझै पनि दोषीसम्म पुग्ने ठोस प्रमाण हात लाग्न नसकेको प्रहरीले जनाएको छ । अहिले पनि जिल्ला प्रहरीको कार्यालयको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र एसपी दुर्गा सिंहको टोली अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

साउन १० गते साथीको घर गएकी १३ वर्षीया निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा रहेकोउखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटना भएको मंगलबार १ सय १८ दिन भइसकेको छ ।

तपाईको प्रतिक्रिया