Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

मोरङ, ५  मंसिर । मोरङको उर्लाबारीमा मंगलबार दिउसो भीषण आगलागी भएको छ । उर्लाबारी–७ को इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो ।

आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ । करिब पौने २ बजेतिर किराना पसलबाट आगलागी सुरु भएको उर्लाबारी प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड र इटहरीबाट आएका दमकलले आगो नियन्त्रणमा लिएका छन् ।

अधिकारीको घरको भुईतल्ला पक्की, माथिल्लो तल्ला काठको र टिनको छानो थियो । होलसेल र खुद्रा दुवै किसिमका किराना पसल सञ्चालन गर्दै आएका अधिकारीको घरमा आगलागि हुँदा कति क्षति भयो भन्ने विस्तृत विवरण आएको छैन । घरका सबै सदस्य आफन्तको विवाहमा गएको बेला सो घटना भएको हो । आगलागिबाट घरभित्र रहेका नगद, खाद्यान्न, कागजपत्र, धातुलगायत अन्य सम्पूर्ण जिन्सी सामग्री जलेर नष्ट भएको छ ।

 

आगलागि कसरी भएको भन्ने यकिन नभएपनि घरमा सल्काइएको दियो बत्तीका कारण सो घटना भएको छिमेकीहरुको आशंका छ । तर, प्रहरीले भने यसको पुष्टि गरेको छैन । अधिकारीको घर जलेपछि दक्षीणतर्फ सिमाना जोडिएको श्याम खुलालको घरमा समेत जलेर क्षति पुगेको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी र स–शस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।

दिउँसो सवा एक बजेदेखि सुरु भएको आगलागि पौने चार बजे नियन्त्रणमा आएको छ ।

तपाईको प्रतिक्रिया