Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, २५ फागुन २०७९ । वाणिज्य बैङ्कहरूले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

आगामी चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । उहाँले आफूहरू ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताउनुभयो ।

हाल बैङ्कहरूले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैङ्क तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् । रासस

 

तपाईको प्रतिक्रिया