Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

विराटनगर, ५ मंसिर  । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलाई न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । एसपी अधिकारीका अनुसार, हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।

मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’

स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ ।

यसैबीच, हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन थालेका छन् ।

मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समूदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया