Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, १६ फागुन २०७९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताउनुभयो । उहाँले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने उल्लेख गर्नुभयो ।

उहाँले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको बताउनुभयो ।

उहाँले पछिल्लो समय उद्योगहरुमा जलविद्युतको माग राम्रो रहेको बताउनुभयो । उहाँले ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिब ७ हजार मेगावटको पीपीए भइसकेको बताउनुभयो ।

त्यस्तै, निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिवद्धता भइसकेको बताउनुभयो । उहाँले एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १ सय ४० मिलियन, विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उल्लेख गर्नुभयो ।

जलविद्युत उत्पादनको लागि नयाँ-नयाँ प्रोजेक्टहरु बनाउनको लागि अहिले प्राप्त भएको लगानी प्रतिवद्धताले मात्रै अपुग हुने उहाँले बताउनुभयो । उहाँले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउनुभयो । प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको समेत उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया