Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ८ फागुन २०७९ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैङ्कले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताउनुभएको छ ।

सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको सङ्कटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कार्यकारी निर्देशक नेपालले यस्तो बताउनुभएको हो ।

उहाँले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताउनुभयो । पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।

निर्देशक नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको धारणा औँल्याउनुभयो । लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक उहाँको भनाइ छ ।

स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्नुहुँदै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको उहाँले बताउनुभयो ।

नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । लघुवित्तहरूले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम नलाग्ने उहाँले बताउनुभयो ।

कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैङ्कमा उजुरी दिन सबैलाई उहाँले आग्रह गर्नुभयो । लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक छ । पछिल्लो समय पाँच देखि १० प्रतिशत लघुवित्त संस्थाहरूले खराब काम गरेको भन्दै त्यसलाई सुधार गरिने उहाँले बताउनुभयो । निर्देशक नेपालले पछिल्लो समय केही शेयरका खेलाडीहरू लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप लगाउनुभयो । कोरोना महामारी र तरलता अभावको कारण पनि लघुवित्तहरूमा समस्या आएको छ ।

त्यस्तै, माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत् पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताउनुभयो । नेपाल राष्ट्र बैङ्कले दिएको निर्देशन भित्र लघुवित्तहरू बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष पोखरेलले लघुवित्तहरूले ग्रामीण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको बताउनुभयो । पछिल्लो समय लघुवित्तहरूमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको जानकारी दिनुहुँदै अध्यक्ष पोखरेलले लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया