Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौँ, ७ फागुन २०७९ । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुवाको केरुङ र हुम्लाको यारी नाका खुला भई सामान आयात निर्यात हुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुला भई सामान आयात–निर्यात हुन थालेका छन् ।

चिनियाँ नाकाहरूमा रसुवाको केरुङ, सिन्धुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला र हुुम्लाको यारी छन् । तीमध्ये रसुवाको केरुङ, तातोपानी कोदारी र हुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिनुभयो । चीनतर्फका उत्तरी नाका खुला भई सञ्चालनमा आएकोे उहाँले स्पष्ट पार्नुभयो ।

कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिनुुभयो । “अहिले नाका खुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,” उहाँले भन्नुभयो । सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उहाँको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुला नभएको उहाँले जानकारी दिनुभयो ।

केरुङ नाकाबाट आयातको तुलनामा निर्यात कम रहेको भण्डारीले जानकारी दिनुभयो । पुस १२ देखि रसुुवा नाका खुला भई स्वदेशी सामान निर्यात हुन थालेको हो । बीचमा दुई साता बन्द भएको सो नाकाबाट हालसम्म ११ करोड रुपियाँ बराबरको ८० ट्रक सामान निर्यात भएको रसुवा भन्सार कार्यलयले जनाएको छ । नेपालबाट बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्व अध्यक्ष नरेश कटुवालले व्यवसायीसँग पैसा नहुदा कम मात्र सामान ल्याउने गरेको बताउनुभयो । बैङ्कको उच्च ब्याजदरले ऋण र किस्ता तिर्न नसक्ने अवस्थामा रहेकाले पर्याप्त सामान अर्डर गर्न नसकेकोले केरुङ नाकाबाट कम मात्र सामान आउने गरेको उहाँको भनाइ छ । चीनबाट नेपालमा ठूलो परिमाणमा विभिन्न सामान आयात हुने गरेकामा नेपालबाट न्यून परिमाणमा सामान निर्यात हुने गर्छ ।

भन्सार विभागका अनुुसार चालू आर्थिक वर्षको छ महिनामा चीनबाट एक खर्ब ९ अर्ब ७८ करोड सात लाख रुपियाँ सामान आयात भएको छ । सो अवधिमा ३४ करोड ११ लाख एक हजार रुपियाँ बराबरको सामान निर्यात भएको छ । चीनसँग एक खर्ब ९ अर्ब ६३ करोड ७५ लाख ९९ हजार रुपियाँ व्यापार घाटा छ ।

विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँ सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो ।

चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुटको व्यवस्था भए पनि निर्यात भने न्यून मात्र हुनेगर्छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया