Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, टेण्डर प्रक्रियामा रोक

काठमाडौं, ४ मंसिर । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, सरकारले टेण्डर प्रक्रियामा रोक लगाएको छ ।

ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो ।

मंगलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ ।

यस्तै पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा लेखिएको छ ।

कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो ।

पप्पुले सन् २०१६ जुन २० मा उक्त आयोजनाको २३ किलोमीटरको डुडुवा शाखा नगर निर्माण गर्ने ठेक्का पाएको थियो । तर, पप्पुले ठेक्का सम्झौता अवधि सकिँदा समेत जम्मा ७ प्रतिशत मात्र काम गरेको आयोजनाले भनेको छ ।

तपाईको प्रतिक्रिया