Online Bichar
बिहिबार, फाल्गुण १७, २०८० | Thursday, February 29, 2024

काठमाडौँ, २४ माघ २०७९ । नेपालमा आयोडिनयुक्त नुनको मात्रा शरीरलाई चाहिने भन्दा बढी प्रयोग भएको पाइएको छ । शरीरमा आयोडिनको मात्रा चाहिने भन्दा बढी रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको मात्रा घटाउने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आयोडिनको मात्रा हिमाल, पहाड र तराईका जनतालाई समेट्ने गरी कति मात्रामा नुनमा आयोडिन तोक्ने भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा बसेको स्टान्डराइजेशन कमिटीको बैठकले छलफल गरिरहेको उनले बताए ।

यस्तै, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सको समूहले गरेको अनुसन्धानबारेको लेख तथा अमेरिकाको द न्यूयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्समा उल्लेख गरिएअनुसार नेपालमा चाहिनेभन्दा बढी आयोडिनयुक्त नुन विभिन्न खाद्य बस्तुबाट खाने गरेका पाइएको छ ।

हालै देशका सात जिल्लाका भान्साबाट दुई हजार ११७ नुनका नमुना सङ्कलन गर्दा ९८ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग गरिएको पाइयो । जसमध्ये करिब ८४ प्रतिशत नमुनामा अत्यधिक आयोडिन पाइएको थियो । १३ प्रतिशत नमुनामा पर्याप्त आयोडिन र करिब एक प्रतिशतमा आवश्यक मात्राभन्दा कम आयोडिन रहेको पाइएको थियो ।

यस्तै, सन् २०१६ मा गरिएको माइक्रो न्युट्रियन्ट सर्भेका अनुसार ४० पीपीएम भन्दा बढी आयोडिन विभिन्न खानामार्फत खाने कुल जनसङ्ख्याको ६७ प्रतिशत छ । प्याकिङ हुँदा आयोडिनको मात्रा ५० पीपीएम राखिन्छ । तर, १५ देखि ४० पीपीएमसम्म मानव स्वास्थ्यका लागि आवश्यक पर्छ ।

यसरी शरीरमा आयोडिनको मात्रा आवश्यक भन्दा कम वा बढी भएमा स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरूको भनाइ छ । आवश्यकभन्दा बढी आयोडिन खाएमा थाइराइड हर्मोनलाई गडबडी गराउने फिजिसियन डा। रोशनकुमार झा सुनाउँछन् । थाइरोइड हर्मोनहरु शरीरमा हुने पोषक तत्त्वहरू पाचन गर्ने प्रक्रिया र शारीरिक तथा मानसिक वृद्धिका लागि आवश्यक पर्छ ।

थाइरोइडलाई उत्प्रेरित गर्ने हर्मोन घटबढ भएमा दिमाग, पिट्युटरी, थाइरोइडलाई उत्प्रेरित गर्ने हर्मोन, थाइरोइड ग्रन्थि, मांसपेशी, थाइराइड हर्मोनहरु मुटु, कलेजो, मिर्गौलालाई असर गर्छ । डा।झाका अनुसार आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । आयोडिनले थाइरोइड ग्रन्थिबाट थाइरोइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि यो हर्मोन अत्यन्त जरुरी छ ।

आयोडिनको मात्रा घटाउने तयारी

पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले बाहिर कुनै पनि चिकित्सकले तथा कुनै विद्यार्थीले पास गर्ने क्रममा आयोडिनको मात्रा कति कति प्रयोग गरिएकोबारे भएको अनुसन्धानबाट आएका सबै निचोडले देशलाई प्रतिनिधित्व गर्न नसक्ने दाबी गर्छन् ।
‘देशभरिको प्रतिनिधित्व हुनुपर्छ । कुनै ठाउँमा गरिएको नमुना सङ्कलनले मात्रै हुँदैन,’ उनले भने ।

सरकारले ६ देखि ८ कक्षासम्म पढ्ने विद्यार्थीको पिसाब जाँचेर हेर्दा आयोडिनको मात्रा, आयोडिन एक्रेयस्न युरिन कति गयो भनेर हेर्दा धेरै आयोडिन खाएको नदेखिएको उनको दाबी छ । यद्यपि २०७७ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न रिपोर्टका आधारमा नुनमा आयोडिन मिसाउने विषयमा पुनरावोलन गर्नुपर्ने बताएको थियो ।

आयोडिनको मात्रा बढी भएर हाइपर थाइराइराडिजम रोग लाग्ने दर बढ्दै गएको इन्ड्रोक्राइनोलोजिष्टहरुले बताउँदै आएका छन् । हाइपर थाइराइराडिजम रोग भन्नाले आयोडिन शरीरमा बढी भएर हुने रोग हो ।
पोषण शाखाका प्रमुख थापाका अनुसार नेपालमा प्राकृतिक रूपले आयोडिन पाइँदैन । हिउँ र वर्षाको कारणले धेरैजसो पहाडी तथा तराई भूभागको माटो रहेको आयोडिन पखालिनुका साथै माटोमै उपलब्ध हुँदैन । नेपालको भौगोलिक बनोट र वातावरणीय कारणले गर्दा खाद्यपदार्थमा आयोडिनको कमी हुन्छ, जसले गर्दा पर्याप्त मात्रा आयोडिनको मात्रा नहुने उनले बताए ।

त्यही आधारमा पहाड, हिमाल र तराई क्षेत्रमा कसरी, कति आयोडिनको नुन सेवन गर्छन् भन्ने कुराका आधारमा आयोडिनको मात्रा तोकिने उनले बताए । भन्छन्, ‘सहरी क्षेत्रमा जति धेरै खानेकुरा परिकार खायो, त्यति धेरै नुन सेवन गरिन्छ ।’ नुनको प्याकेटमा उत्पादन हुँदा कम्तीमा ५० पीपीएम आयोडिन हुन्छ । पसलसम्म आइपुग्दा कम्तीमा ३० प्रतिशत र भान्सासम्म पुगेर सेवन गर्दा कम्तीमा १५ पीपीएम हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । अव सम्बन्धित निकायले आयोडिनको पीपीएम परिमार्जन गर्ने क्रममा रहेको उनले बताए ।

शरीरमा आयोडिन कम हुँदा हुने असर

परिवार कल्याण महाशाखाका अनुसार नेपालमा ११।९ प्रतिशत घरहरूमा ढिके नुन तथा ४.१ प्रतिशत घरहरूमा खुल्ला रूपले विक्री हुने धुलो नुनको प्रयोग भइरहेको छ । जसमा पर्याप्त मात्रामा आयोडिन हुँदैन । यस्ता नुनमा आयोडिन राम्ररी मिसाउन सकिँदैन । यसको तिखोखाले बनावटले गर्दा यस्ता नुनलाई प्लास्टिकको प्याकिङ सामग्रीमा प्याकिङ गर्न पनि नमिल्ने शाखाका प्रमुख थापाले बताए ।

त्यसैले यी नुनमा आयोडिन मिसाए ता पनि ढुवानी गर्ने, विक्री गर्ने र भण्डार गर्ने क्रममा राखिएको आयोडिन उडेर नाश हुने उनको भनाइ छ । विशेष गरी ढिके नुन फोहोर हुन्छ । आयोडिन शरीरमा कम भएमा गर्भ तुहिने, मरेको बच्चा जन्मने, अविकसित, शारीरिक विकलाङ्ग, बालबालिकाहरूमा हाइपरथाररोइज्म, पढाइमा कमजोर र सुस्त मनस्थिति, शारीरिक कमजोरी हुने लगायत समस्या हुने प्रमुख थापाले बताए ।

यस्तै, वयस्क गलगाँड, हाइपरथइरोइडिज्म र मानसिक क्षमतामा कमी, शारीरिक तथा सामाजिक समस्या, शक्तिमा कमी, निद्रा लाग्ने, अल्छी लाग्ने, दिमागले कम नगर्ने सुस्त मनस्थिति, शारीरिक विकास नहुने बामपुडके, बहिरो आदि, बोलीको विकास नहुने आदि समस्या देखिने उनले बताए ।

यद्यपि नेपालमा नुनकै कमीले गलगाँड, पुड्कोपन लगायतका समस्या कति जनामा देखिएको छ भन्नेबारे यकिन तथ्याङ्क सरकारसँग छैन । उनले पकाएका खानामा नुन हाल्दा ३० देखि ७० प्रतिशत आयोडिन नष्ट हुने तर नपकाई नुन छर्केर खाने खानाहरूमा आयोडिनको मात्रा बढी हुने समेत जानकारी दिए । दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुन ९६ प्रतिशत घरधुरीले सेवन गर्ने गरेको पोषण शाखाले जनाएको छ ।

कुन उमेर समूहलाई आयोडिनको मात्रा कति ?

यसै क्रममा नेपालमा पछिल्लो समय तोकिएको आयोडिनको मात्रालाई परिमार्जन गरिने भएको छ । किनकि आवश्यकभन्दा धेरै आयोडिनयुक्त नुनको खानाका विभिन्न परिकारमार्फत सेवन गर्ने क्रम बढेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार ०–५९ महिनाका बालबालिकालाई ९० माइकोग्राम आयोडिन सेवन गर्नुपर्छ । यस्तै, ६–१२ वर्षका बालबालिका १२० माइक्रोग्राम, वयस्क उमेर समूहकालाई १५० र महिला गर्भवती तथा सुत्केरीलाई २५० माइक्रोग्राम आवश्यक पर्छ ।
भारतमा गरिएको एक अध्ययनले प्रायः मानिसले खानामार्फत खाएको आयोडिन नुन ३० देखि ७० प्रतिशत खाना पकाउँदा नष्ट हुने देखाएको छ । नेपालमा पनि धेरै नेपालीले पकाउनुभन्दा पहिला नुन पहिला राखेर प्रेसर लगाएर पकाउने चलन छ । त्यसरी पकाएर नुनिलो स्वाद आए पनि आयोडिन भने उड्ने भएकाले पकाउँदा ध्यान दिन उनको आग्रह छ ।

एडीएचएसका अनुसार नेपालमा ढिके नुनको आयात न्यून अर्थात् १० प्रतिशत मात्रै भित्रिने गर्छ । यद्यपि भारत, नेपाल खुल्ला सिमानाबाट आयोडिन मात्रा ज्यादै कम तथा नभएको नुन प्याकेट र ढिके नुन ठुलो मात्रामा नेपाल भित्रिने पोषण शाखाका एक कर्मचारीले बताए । जसले गर्दा नेपालका लागि अर्को चुनौती थपिएको उनको भनाइ छ ।रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया