गौरादह, ७ माघ । नेपालको सीमान्तकृत सन्थाल जातिको सामाजिक परिवेशमा लेखिएको आतोओडा उपन्यासको विमोचन तथा पुस्तक चर्चा भएको छ । जानुका खतिवडाद्वारा लिखित उपन्यास आतोओडाको झापा गौरादहमा गृहबिमोचन तथा पुस्तक चर्चा गरिएको हो।
आतोओडा उपन्यासलाई सुदूरपूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मुख्य बसोवास गर्ने राज्यको मूलधारबाट किनारा लगाइएका सन्थाल जातिको सामाजिक, साँस्कृतिक, एवम् आर्थिक-राजनीतिक अवस्था र मनोविज्ञानको बहुआयामिक पक्ष समेटिएको पहिलो नेपाली उपन्यास भएको दावी गरिएको छ ।
गौरादह साहित्य समाजको आयोजनामा गरिएको विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा वक्ताहरुले उपन्यासले सन्थाल समुदायको जीवन-सङ्घर्ष, भूमिहीन तथा नातरिकता विहिनताको कथाव्यथा र कठिनाइहरुलाई मुखरित गरेको धारण राखेका थिए ।
कार्यक्रममा पुस्तक विमोचन गर्दै प्रमुख अथिति संविधान सभा सदस्य माननीय दिपक कार्कीले मुलुकमा राजनैतिक परिवर्तन भएपनि ग्रामिण क्षेत्रमा बसोबास गर्ने सन्थाल लगाएतका बिपन्न, सिमान्तकृत जाति समुदाय तथा सर्वहारा नागरिकको समस्याप्रति राज्य संवेदनशिल हुन नसकेको धारणा राखेका थिए। मुलुकमा अहिलेपनि सुकिला र टाठाबाठाहरुको हालिमुहाली चल्नेगरेको कारण शुसासन र थीति विकास हुन नसक्दा पिछाडि पारिएको जाति समुदयको यथार्थमा सम्बोधन हुन नसकेको उनले बताए।
काठमाडौंमा रहेर साहित्य साधनारत कृतिकारको नेपालि सहित्य क्षेत्रमा स्थापित नाम हो । आफ्नो जन्मस्थान गौरादहको सेरोफेरोको कथावस्तु तथा विषय परिवेशलाई आधार बनाएर लेखिएको आतोओडा आफ्नो ५ औं कृति रहेको लेखक खतिवडाले बताएकी थिइन।
कलम प्रकाशनका नरेन्द्र कुमार नगरकोटीले विद्यार्थीहरुमा क्षमता अभिवृद्धि गर्न पठन संस्कृति विकासको आवश्यकता रहेको धारणा राखेका थिए।
कार्यक्रममा गौरादह नगरपालिकाका सामाजिक विकास समिति संयोजक दुर्गामणी बस्नेतले पुस्तकले सन्थाल समुदायको उत्थानका लागि महत्त्व दिएपनि गौरादह क्षेत्रलाई थप परिचित गराएको धारणा राखेका थिए।
लेखक तथा साहित्यकार कृष्ण अविरलले पुस्तको चर्चा गर्दै उपन्यासको कथावस्तु शसक्त रहेको तथा पाठकले अत्यन्तै रुचाउने विश्वास सहित लेखक जानुका खतिवडामा साहित्य क्षेत्रमा अझै धैरै गर्नसक्ने संभावनाहरु रेको बताए ।
गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाले विद्यार्थीहरुको सिर्जनशिल क्षमताको विकास गर्न पठन संस्कृतिलाई बढावा दिनुपर्ने धारणा राखेका थिए। उनले कला, साहित्यले समाज रुपान्तरणमा अहम् भुमिका निर्वाह गर्ने बताउँदै कलाकार र साहित्यकारहरुले गौरादहलाई मुलुक भरि चिनाउन सफल भएको विचार व्याक्त गरे।
गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपाल प्रसाद काफ्लेले इतिहाँस तथा कलासंस्कृति सम्पन्न भएर पनि हरेक क्षेत्रमा पछाडि परेको सन्थाल समुदायलाई अगाडि ल्याउन उपन्यासले ध्यानाकर्षण गराएको टिप्पणी गरेका छन् । सन्थाल जाति राष्ट्रिय मुलधारमा आउन नसक्नुका कारण, दुख, पीडा र समस्या जस्ता बिषय वस्तुलाई उठान गरेकाले समस्या समाधानका लागि सम्बन्धित निकायहरुले गम्भिर हुनुपर्ने धारणा राखेका थिए।
सन्थाल समुदायकी लक्ष्मी मर्डीले पुस्तकले पूर्वी नेपालमा बसोबास गर्दै आएका सन्थाल समुदायको सबल र दुर्बल पक्षको उजागर गरेको धारणा राखेकी थिईन।कार्यक्रममा गौरीगञ्ज २ कोरोवारीको जोयोड झरना सन्थाल युवा क्लवले जातिय संस्कृति झल्काउने नृत्य प्रदर्शन गरेका थिए।
कार्यक्रम गौरादह साहित्य समाजका अध्यक्ष खगेन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो। गंगा कार्कीले स्वागत मन्तब्य राखेको कार्यक्रममा समाजका सचिव डण्डीराज घिमिरेले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रम गौरादह २ मा रहेको निर्माणधिन लायन्स चिल्ड्रेन पार्कमा सम्पन्न भएको थियो ।