Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

सम्पादकीय, २८ पौष । गौरादह नगरपालिकाले अनुमान गरेको आन्तरिक आम्दानी दई करोड ६२ लाख रुपैयाँ मात्र छ । तर आन्तरिक आम्दानी ५० करोड ३७ लाख अनुमान गरिएको दमकको भन्दा दर्जन बढी शीर्षकमा गौरादहले प्रशासनिक खर्च बढि छुट्याएको पाइएको छ ।

पदाधिकारीको वैठक भत्ता, पदाधीकारीको अन्य सुविधा, सञ्चार महशुल, नगरसभा खर्च, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्च, सूचना प्रणाली तथा सफ्टवेयर खर्च, अन्य सेवा शुल्क, घरभाडा, भ्रमण खर्च लगाएतका खर्चमा गौरादह नगरपालिकाका बढी खर्चालु पाइएको छ ।

गौरादह नगरपालिकाको आन्तरिक आम्दानीको सुनिश्चितता नभएर होला सायद जनप्रतिनिधिको भत्ता तथा सेवासुविधाको लागि ८५ लाख रुपैयाँ बजेट राजस्व बाँडफाँड शीर्षकको संघीय अनुदानको बजेटबाट छुट्याएको देखिन्छ ।

स्थानीय सरकारले जनप्रतिनिधिलाई नियमानुसार उपलब्ध गराउने वैठक भत्ता तथा अन्य सुविधा बापतको खर्च आन्तरिक स्रोतबाट बिनियोजन गरिनु उत्तम मानिन्छ । यदि आन्तरिक आम्दानीको कुनै बिकल्प नहुँदा मात्र समानिकरण अनुदान र राजश्व बाँडफाँड शीर्षकको बजेटबाट छुट्याउन पाइने हो ।

गौरादहले आन्तरिक आम्दानिको स्रोत भन्दा बाहिर गएर राजश्व बाँडफाँड शीर्षकको बजेटबाट जनप्रतिनिधिको सेवासुविधा छुट्याउनु पनि जनप्रिय भने होइन ।
चालु अर्थिक बर्ष २०७९/०८० को लागि दशौं नगरसभाले बिनियोजन गरेको अचाक्ली प्रशासनिक खर्च आजबाट सुरु हुने एघारौं नगरसभाले सच्याउनुको विकल्प नै छैन ।

स्थानीय सरकारमा निर्वाचित भएपछिको पहिलो बजेट बिनियोजनमा नै गौरादहका जनप्रतिनिधि प्रशासनिक खर्च बिनियोजनमा किन र कसरी चुके ? फजुल खर्च रोक्ने छौं भन्ने कसम खाएर चुनाव जितेका जनप्रतिनिधिको नियत पक्कै सफा होला तर चालुखर्च बिनियोजनमा भने ध्यान नपुगेकै हो ।

निर्वाचित जनप्रतिनिधिले यो एघारौँ सभाबाट प्रशासनिक खर्चलाई संशोधन गरी फजुल खर्चहुनबाट गौरादह नगरपालिकालाई बचाउने छन् भन्ने जनताको विश्वास छ ।
नगरपालिकाले चालु आर्थिक बर्षको लागि दशौँ नगरसभाबाट बिनियोजित ७८ करोड ४ लाख बजेट बिनियोजन गरेकोमा ४७ करोड १५ लाख ९९ हजार चालु प्रशासनिक खर्चमा बिनियोजन गरेको छ । पुँजीगत विकास खर्च भने ३० करोड ८८ लाख मात्र बिनियोजन भएको छ । चालु खर्चको तुलनामा विकास बजेट बिनियोजन न्यून हुँदै गइरहेको छ ।

गौरादह नगरपालिकाले अन्य सेवा शुल्क शिर्षकमा ५० लाख रुपैयाँ बिनियोजन गर्दा दमक नगरपालिकाले २ लाख मात्र बिनियोजन गरेको छ । घरभाडमा गौरादहले २५ लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख २० हजार बिनियोजन गरेको छ । सुचना प्रणाली तथा सफ्टवेयर संचालन खर्चमा गौरादहले ३० लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख बिनियोजन गरेको छ ।

सेवा तथा परामर्श शिर्षकमा गौरादहले ३० लाख बजेट बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी बैठक भत्ता शिर्षकमा गौरादहले ३० लाख बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी तथा अन्य सुबिधा शिर्षकमा गौरादहले १ करोड ५ लाख बिनियोजन गर्दा दमकले ९३ लाख ७२ हजार बपनियोजन गरेको छ। अन्य भत्ता शिर्षकमा गौरादहले ५ लाख बिनियोजन गर्दा दमकले ४ लाख बिनियोजन गरेको छ। संचार महसुलमा गौरादहले १२ लाख बिनियोजन गर्दा दमकले ६ लाख बिनियोजन गरेको छ ।

पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन शिर्षकमा गौरादहले ४० लाख बिनियोजन गर्दा दमकले १६ लाख बिनियोजन गरेको छ । बिमा तथा नबिकरण शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ७ लाख बिनियोजन गरेको छ । सरसफाइ शिर्षकमा गौरादहले ५ लाख बिनियोजन गर्दा दमकले २ लाख बिनियोजन गरेको छ । भ्रमण खर्चमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले १२ लाख बिनियोजन गरेको छ ।

सभा संचालन खर्च शिर्षकमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले ८ लाख बिनियोजन गरेको छ। सवारीसाधन तथा मेसिनरी औजार भाडा शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ७ लाख २० हजार बिनियोजन गरेको छ । मेसिनरी तथा औजार खर्च शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ९ लाख बिनियोजन गरेको छ ।

चालू खर्च भनेको निर्वाचित, मनोनीत र नियुक्त व्यक्तिहरूको तलबभत्ता तथा कार्यालय सञ्चालनको खर्च हो । एक वर्षमा उपभोग भएर जाने वा त्यसबाट भविष्यमा आय सिर्जना नहुने खर्चलाई चालू खर्च भनिन्छ ।

चालु खर्च गरेर कुनै देश समृद्ध बनेका छैनन् । अतः अब पुँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ नै स्थानीय सरकारको ध्यान केन्द्रित हुन आवस्यक छ । चालु खर्च नियन्त्रणमा दर्बीलो खबरदारीको लागि नागरिक पनि सक्रिय हुन आवस्यक छ ।

गौरादह आफैमा आर्थिक रूपमा कमजोर नगरपालिका हो । आन्तरिक स्रोत ज्यादै न्यून छ । संघीय सरकार र प्रदेश सरकारले दिने अनुदानकै भर पर्नुपर्ने वर्तमान अवस्थामा स्थानीय सरकारले चालु तथा प्रशासनिक खर्चमा मितव्ययीता अपनाउनै पर्छ । सुशासनका लागि मितव्ययीता र आर्थिक अनुशासन अनिवार्य छ । एघारौँ नगर सभा गौरादह बासीका लागि फलदायी बनोस शुभकामना ।

तपाईको प्रतिक्रिया