Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

३ मंसिर, काठमाडौं ।  कर्मचारीले नेपाल भनेको काठमाडौं मात्रै बुझ्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले नेपाल नै नबुझेको गुनासो गरेका छन ।

ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले नेपाल भनेको काठमाडौं मात्रै बुझ्ने प्रवृत्ति रहेको बताए । ‘धेरै रास्ट्रसेवकले नेपाल बुझेनन् । किनभने नेपाल के बुझे भने काठमाडौं हो, म जहाँ छु त्यही नै नेपाल हो भन्ने बुझे,’ मन्त्री पण्डितले भने ।

खटाएको ठाँउमा जान नखोज्ने प्रवृत्ति पनि समस्याका रुपमा रहेको उनको भनाइ छ । ‘प्रदेश नम्बर एकमा केही समयअघि एकजना सचिवलाई पठाइएको थियो । बिहान प्लेनमा जानू भो, हाजिर गर्नु भो र भरे प्लेनमै फर्किनु भो,’ उनले सुनाए ‘अनि मलाई आएर भन्नू भो म तीन घण्टा काम गरेर आए अब सरुवा मिलाइदिनुपर्‍यो,’ मन्त्री पण्डितले अगाडि भने, ‘मलाई यस्ता रास्ट्रसेवक देख्दा घृणा लाग्छ ।’

कर्म कता छ त्यतै जानेमात्र कर्मचारी हुने उनको भनाइ छ । कर्मचारीले काम गर्न भन्दा बिदेश घुम्न मात्र खोज्ने गरेको र बिदेशमा सिकेको ज्ञान नेपाल आएपछि प्रयोगमा कमै मात्र आउने गरेको बताए ।

मन्त्री पण्डितले सरकार कर्मचारीको वृतिबिकास नरोकिने गरी समायोजनको तयारीमा रहेको उल्लेख गर्दै जानेको र सक्ने काम आफै गर्न र नपन्छाउन कर्मचारीहरुलाई आग्रह गरे ।

मन्त्री पण्डितले कर्मचारीहरुले हाजिरसमेत नगर्ने गरेको भन्दै कर्मचारी अभाव आफै सिर्जना गरेको बताए । ‘केही दिनअघि म एउटा कार्यलयको अनुगमनमा गएको थिए । सुरुमा तपाईंहरुको समस्या के छ भनेर सोधे, कर्मचारी छैनन् । सेवा दिन गाह्रो छ भन्ने जवाफ पाइयो,’ उनले भने, ‘खै हाजिरी हेरौ त भन्दा आधाको पनि हाजिर छैन । अनि कसरी पुग्छ त कर्मचारी ?’

कर्मचारी धेरै भएकाले पनि सेवा सुबिधा बाड्नुपर्ने बाध्यता रहेको उनले बताए । तर, सरकार भौगोलिक विकटतालाई हेरेर सरकार कर्मचारी समायोजनको तयारीमा रहेको उनले बताए । तर, मनोवृत्ति बिग्रेका कर्मचारी काठमाडौंजत्तिकै सेवा र सुबिधा भएको हेटौंडामा पनि कर्मचारी जान नमानेको उनले गुनासो गरे ।

मन्त्री पण्डितले मनचिन्ते सोचले ग्रसित भएर काम गर्न नसके अवस्थाका कर्मचारीलाई बिदा गर्न सरकार तयार रहेको पनि उल्लेख गरे । ‘मनचिन्ते सोचले ग्रसित भएर थिचिदा थिचिदा काम गर्न नसक्ने भएकालाइ हात जोडेर बिदा गरिगरिन्छ,’ उनले भने ।

समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले सरकार कर्मचारी समायोजनमार्फत सम्पूर्ण रास्ट्रसेवकलाई वृत्ति विकासको ढोका खोलेर अगाडि बढ्नेतर्फ केन्द्रित भएको बताए ।

सरकार संघीय निजामती ऐन, प्रादेशिक निजामती सेवा ऐन, स्थानीय सेवा ऐनको तयारीसमेत सरकारले गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया