Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

तेह्रथुम, २६ मंसिर २०७९ । व्यवसायिक तरकारी खेतीमा लागेका तेह्रथुम र धनकुटाका किसानले गत वर्षको तुलनामा खेतीको क्षेत्रफल र उत्पादन बढाउँदै यो वर्ष अकबरे खुर्सानीबाट ३३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

गत वर्ष तेह्रथुमबाट ९ करोड ५ लाख रुपैयाँभन्दा बढीको अकबरे अन्य जिल्लामा पठाइएको कृषि ज्ञान केन्द्रका प्रमुख भुवन बुढाथोकीले जानकारी दिए । यस वर्ष जिल्लाबाट ३ सय ६२ टन अकबरे किसानले बेचेका छन् । बजारमा खुर्सानीको खुद्रा मूल्य प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँसम्म छ । यस वर्ष जिल्लामा २९ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिएको केन्द्रको तथ्यांक छ ।

धनकुटाबाट यस वर्ष २४ करोड ६५ लाख रुपैयाँ बराबरको खुर्सानी जिल्लाबाहिर बिक्री भएको छ । गत वर्ष २४ करोड ५० लाख रुपैयाँको खुर्सानी बाहिरी जिल्लामा बेचिएको कृषि ज्ञान केन्द्र धनकुटाका बाली संरक्षण अधिकृत सुरज खनालले बताए । उनका अनुसार धनकुटामा ८७ दशमलव ५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खुर्सानी खेती गरिएको हो । यस वर्ष ९ सय ८६ टन खुर्सानी उत्पादन भएको छ ।

खुर्सानी उत्पादन हुने सिजनमै मूल्य केही घटेकाले किसानले अघिल्लो वर्षको जस्तो फाइदा पाउन नसकेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । छथर गाउँपालिका–५ ओख्रेकी खुर्सानी किसान राधिका खड्काले भनिन्, ‘खुर्सानी धेरै फल्यो । तर मूल्य भने पोहोर सालको जस्तो पाउन सकिएन ।’

किसानले अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदे बाली अकबरेको बिरुवा, फल र बियाँ बिक्री गरिरहेका छन् । तर मूल्यमा उतारचढाव हुँदा आम्दानीमा घटबढ भइरहेको जिल्ला किसान सञ्जालका अध्यक्ष योगेन्द्र गडतौलाले बताए । यस पटक भारतबाट माग कम आएको र नेपालका आन्तरिक बजारमा खपत हुन नसक्दा मूल्य घटेको फेदाप गाउँपालिका ओयाक्जुङका खुर्सानी किसान मालती जोगीले जनाइन् ।

उत्पादित खुर्सानी पूर्वी तराई हुँदै काँकडभिट्टा र जोगवनी नाका भएर भारतका सिलिगुडी, दार्जिलिङ, सिक्किम, कालिङपोङ, मेघालयलगायत भारतीय बजारमा निर्यात हुन्छ । धनकुटाका महालक्ष्मी, पाख्रीबास नगरपालिका तथा साँगुरीगढी गाउँपालिका अकबरे खुर्सानी खेती हुने मुख्य क्षेत्र हुन् । पर्याप्त सिँचाइ सुविधा नभएको जमिनमा समेत खुर्सानी खेती गर्न सकिने र थोरै जग्गामा पनि राम्रो आम्दानी हुने भएकाले अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको बाली संरक्षण अधिकृत खनालले बताए ।

पिरो प्रजातिका ६ देखि ७ प्रकारका खुर्सानी यहाँ खेती हुने गरेको उक्त केन्द्रले जनाएको छ । ठूलो डल्ले, सानो डल्ले, गोलो लाम्चे, चिप्लो लाम्चेलगायत आकारका अकबरे किसानले उत्पादन गर्दै आएका छन् । आगामी वर्ष क्षेत्रफल र उत्पादन दोब्बर बनाउन बढी उत्पादन हुने र रोग प्रतिरोधात्मक क्षमता बढी भएको अकबरेको जात छनोटको काम केन्द्रले गरिरहेको खनालको भनाइ छ । अल्सर र ग्यास्ट्राइटिसका लागि लाभदायक हुने दाबी गरिएको अकबरेमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइने बताइन्छ ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया
--> -->