Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

जेबि खड्का
गौरीगंज, २२ मंसिर २०७९ । गौरीगंज-३ स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। गौरीगंज मा.बि.को प्राङ्गणमा आयोजना गरिएको साधारणसभामा संस्थाका अध्यक्ष कर्मा शेर्पाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। अध्यक्ष द्वारा प्रस्तुत प्रतिबेदनमा बिगतका कार्यक्रमहरुलाई निरन्तरता दिदै सेयर सदस्यहरुका लागि शेयर सदस्य जीवन बिमा र नन लाइफ विमा थप गरिएको जानकारी गराएका थिए।

संस्थाका लेखा समिति सदस्य बम बहादुर राईले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।राई द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले २०७९ असार मसान्तसम्ममा ४ लाख ८४ हजार ५ सय तीन रुपैयाँ खुद नाफा गरेको जानकारी गराएका थिए। संस्थाले गत असार मसान्तसम्ममा २ करोड ५८ लाख २३ हजार ५ सय ९९ बराबरको कुल कारोवार गरेको लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थामा आवद्ध सेयर सदस्यहरु मध्ये ७० बर्ष कटेका ३ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा मणि प्रसाद डोटेल, कृष्ण माया डोटेल र बिष्णु मान श्रेष्ठ रहेका छन।कुल ३ सय २३ सेयर सदस्य रहेको संस्थामा उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणि १र१ जनालाई पुरस्कृत गरिएको संस्थाका ब्यबस्थापक दुर्लभमान श्रेष्ठले जानकारी गराए।

संस्थाका अध्यक्ष कर्मा शेर्पाको सभापतित्वमा सम्पन्न साधारणसभामा पुर्ब अध्यक्षहरु गोबिन्द प्रसाद घिमिरे, सर्वतलाल राजवंशी र कमलेश्वर राजवंशी , राजवंशी समाज बिकास समिति गौरीगंजका अध्यक्ष गोपाल राजवंशी, वडा नं.३ का वडाध्यक्ष श्रवण गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष घनश्याम गौतमले स्वागत मन्तब्य राखेको कार्यक्रममा सदस्य ईन्द्र प्रसाद नेपालले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया