Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

 

काठमाडौं, ३ मंसिर । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लागेको हो ।

पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गर्नेछन् । त्यसका लागि गृहमन्त्री थापा आज ११ बजे फिदिम पुग्दैछन् ।

राष्ट्रिय परिचयपत्रका लागि यसअघि भण्डारीबाटै विवरण संकलन थालिएको थियो । सोमबार नै पाँचथरका थप ५० जनालाई पनि परिचयपत्र वितरण गर्ने तयारी छ ।

‘राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । तत्कालका लागि २४ सय कार्ड बनेर हामीकहाँ आइसकेको छ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर अरुलाई क्रमशः वितरण गर्दै जान्छौं ।’

पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शुरु भएको थियो । हालसम्म ५२ हजारको विवरण संकलन गरिसकेको विभागले क्रमशः सबैलाई परिचयपत्र वितरण गर्ने योजना बनाएको छ ।

जैविक परीक्षण गरेर मात्रै परिचय पत्र

राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राईलगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी कार्यक्रम छ ।

नागरिकता वितरणमा फर्जी काम बढिरहेका बेला विभागले राष्ट्रिय परिचयपत्र वितरणलाई भने वैज्ञानिक बनाएको जनाएको छ । नागरिकताजस्तो सिफारिस गरिएकै आधारमा राष्ट्रिय परिचयपत्र पाइने छैन । त्यसका लागि शुरुमै जैविक परीक्षण गरेर विवरण संकलन गरेको विभागले वितरण पनि परीक्षणपछि मात्रै गर्ने छ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुनेछ । यो बहुउपयोगी हुने अधिकारीहरुको भनाइ छ ।

‘राष्ट्रिय परिचयपत्र आफूसँग राखेपछि नागरिकता, मतदाता परिचयपत्र लगायतका कागजात बोकेर हिँड्नुपर्ने झन्झट हुँदैन,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले भने ।

३ वर्षभित्र सबैको हातमा राष्ट्रिय परिचयपत्र

आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ । विभागले यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा परिचयपत्र वितरणको लक्ष्यका साथ त्यहाँ विवरण संकलन गरिरहेको छ ।

त्यसैगरी प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।

प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया