Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं, २ मंसिर । बलात्कारको बिरोध गर्दा कुटिएका सांसद रामप्रित पासवान ।  पञ्चायती गाउँका भद्रभलाद्मीको सभा० मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् ।

सर्लाहीको कविलासी नगरपालिका(६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि कुटपिट भएको हो ।

मदनपुर निवासी रामप्रसाद रायकी कक्षा ११ मा पढ्ने छोरी पुनितकुमारी गत कात्तिक २८ गते घरबाट भागेकी थिइन् । स्थानीय रायहरुले गाउँकै सन्तोष राममाथि उनलाई भगाएको आरोप लगाएपछि शुक्रबार विवाद सुल्झाउन पञ्चायती बसेको थियो ।

स्थानीय दलित समुदायको आग्रहमा आफू पनि पञ्चायतीमा गएको सांसद पासवानले बताए । उनका अनुसार सन्तोषले केटी भगाएको कुनै प्रमाण सो पञ्चायतीमा पेश भएको थिएन । स्कुलमा सँगै पढेको र राम्रो सम्वन्ध भएकाले शंकाको भरमा सोधपुछ गरिएको थियो । सन्तोषले आरोप स्वीकार गरेनन् ।

पञ्चायतीले ‘यदि केटी भगाएको रहेछ वा कहाँ छ भन्ने थाहा भए दुई दिनभित्र उपस्थित गराउनुपर्ने’ निर्णय सुनायो । तर, केटी पक्षका फेकन रायले सो निर्णय नमान्ने बताए । उनले यदि दुई दिनभित्र पुनितलाई उपस्थित नगराए सन्तोषकी अविवाहित बहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग राखे ।

‘मैले तत्काल त्यसको विरोध गरेँ । यस्तो अपराधिक सामाजिक कुरा नगरौं भन्दा अरु एक दुई जना बोले’ सांसद पासवान भन्छन्, ‘पञ्चायतमा भएका अरु उल्टै ममाथि जाइलागे ।’

बलात्कार गर्नुपर्ने मागको विरोध गर्दा आफूमाथि गालीगलौज गर्दै कुटपिट भएको उनको गुनासो छ । घटनामा सन्तोषको कुनै भूमिका नभए पनि दलित भएकै कारण उनीमाथि आरोप लगाइएको र आफूमाथि पनि दलित भएकै कारण कुटपिट भएको उनले बताए ।

सांसद पासवान भन्छन्, ‘अहिले पनि कथित उपल्लो जातकाले हामीलाई नेता स्वीकार गर्न सकेका छैनन् । यो घटना एउटा व्यक्तिमाथिको आक्रमण होइन, सिंगो दलित समुदायमाथिकै आक्रमण हो ।’

आफूमाथिको कुटपिटभन्दा पनि सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग डरलाग्दो भएको भन्दै उनले महिला अधिकारकर्मीहरुले आवाज उठाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments