Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धरान, २ मंसिर । सुनसरीको धरानमा तिहारपछि आठ जना डेंगुरोगी भेटिएका छन् ।

अव्यवस्थित बंगुरपालन र जथाभावी पानी जमेका कारण लामखुट्टेको संख्या बढेपछि डेंगु संक्रमण भएको हो । स्थानीय विजयपुर अस्पतालमा बिरामीको उपचार भइरहेको निर्देशक प्रभाव खतिवडाले बताए । औषधि विभाग प्रमुख सन्दीप वज्राचार्य नेतृत्वको चिकित्सक टोली खटिएको उनले सुनाए ।

वडा नम्बर ९ का मणि लिम्बू, १० का हेमन्त राई, १५ का सुमत तामाङ, नीरकुमार लोहोर, रहरबहादुर शंकर, मोहन शंकर, १६ का रमेश नेपाल र १७ का रमिला राई उपचाररत छन् । यो रोग लाग्दा सुरुमा ज्वरो आउने, बान्ता हुने पीडितको भनाइ छ । डा.

वज्राचार्यका अनुसार एडिज अजिप्टाई प्रजातिको पोथी लामखुट्टेले टोक्दा यो रोग मान्छेमा सर्छ । यस्तो लामखुट्टेले दिउँसो मात्र टोक्ने गरेकाले सावधानी अपनाए डेंगुबाट बच्न सकिने उनको भनाइ छ । लामखुट्टेले सफा पानीमा मात्र लार्भा पार्ने भएका कारण घर वरिपरि जम्न दिन नहुने उनले सुनाए ।

लामखुट्टे मार्न सबै वडामा विषादी छर्ने काम भइरहेको कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । पानीको स्रोत सफा राख्न, घर वरिपरि पानी जम्न नदिन र घरआँगन सफा राख्न उपमहानगरपालिकाले स्थानीयलाई अनुरोध गरेको छ । अव्यवस्थित बंगुरपालनले लामखुट्टे बढेका कारण डेंगुको जोखिम बढेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया