Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

वीरगञ्ज, १५ कार्तिक २०७९ । भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ ।

यसअघि भारत सरकारले २३ भदौमा सूचना जारी गरेर नेपालको लागि समेत धान निर्यात गर्दा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताएको थियो । सूचना जारी भएलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल चामल, दाल, तेल संघले विरोध जनाएको थियो ।

संघले नेपाल तथा भारतका सम्बन्धित निकायमा गई नेपालका लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएर शून्य भन्सारमा झार्न पहल गर्दै आएको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भारतले धानको निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएपछि चामल उद्योगीलाई राहत मिलेको बताए ।

‘भारतबाट धान ल्याउँदा २० प्रतिशत भन्सार शुल्क तिर्नुपर्दा चामल उद्योगहरु बन्द हुने अवस्थामा पुगेका थिए, नेपाली उपभोक्ताले महँगोमा चामल किनेर खानुपर्ने बाध्यता बनेको थियो,’ उनले भने, ‘भारतले धान निर्यातमा पुनः शून्य भन्सार नीतिले उद्योगीलाई मात्रै हैन, सबै नेपालीलाई राहत मिलेको छ ।’

भारतले जारी गरेको सूचनामा धान, भुसी (खैरो) चामल, अर्ध-मिलेको वा पूर्ण-मिलेको चामल, पोलिस गरिएको वा ग्लेज्ड अथवा उमालेको चामल र बासमती चामल बाहेकमा भन्सार नलाग्ने उल्लेख गरेको छ । यस्तै अर्गानिक गैर-बासमती चामल निर्यातमा पनि भन्सार लाग्दैन । तर त्यसका लागि ४ वटा शर्त राखिएको छ ।

९ सेप्टेम्बर २०२२ भन्दा यता भन्सारमा आएका धानमा पनि भन्सार लाग्ने छैन । धान नेपाल निर्यात गर्दा रक्सौलस्थित भन्सार स्टेसन, जोगबनी वा सुनौली जताबाट गरे पनि ६ लाख मेट्रिक टन भन्दा बढी गर्न नपाउने शर्त छ ।

लेटर अफ क्रेडिट ९ सेप्टेम्बर २०२२ बाट मात्रै खोलिने उल्लेख गर्दै त्यसअघि नै भारतीय र विदेशी बैंक बीच विनिमय भइसक्नुपर्ने लगायत शर्त राखिएको छ ।

नेपाल चामल, दाल, तेल संघका अध्यक्ष समेत रहेका गुप्ताले ६ लाख मेट्रिकटन धान आयात गर्न पाउने अनुमति पाएकोमा खुशी व्यक्त गरे । गत वर्ष नेपालले भारतबाट साढे ५ लाख मेट्रिकटन धान आयात गरेको थियो । नेपालका चामल उद्योगहरुको विकास, विस्तार र प्रबर्द्धनसँगै नयाँ चामल उद्योगहरु स्थापनामा यसले मद्दत पुग्ने गुप्ताको भनाइ छ । भारतबाट धान आयात गर्न पाउँदा उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय चामल प्राप्त गर्ने दाबी उनको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments