Online Bichar
सोमबार, मंसिर १९, २०७९
Monday, December 5, 2022

बिर्तामोड, १३ कात्तिक २०७९ । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा कात्तिक २५ गते शुक्रबार हुने भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको बैठकले वार्षिक साधारणसभा २५ गते बिर्तामोडस्थित अतिथि सदनमा ११ बजेबाट गर्ने निर्णय गरेको हो ।

महासंघको वार्षिक साधारणसभामा सचिव डिकेश लामाबाट सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जित प्रसाईंबाट आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरु पेस हुने उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । महासंघ केन्द्रीय समितिले जिल्ला शाखाहरुको साधारणसभा कात्तिक मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरे बमोजिम झापा शाखाले तोकिएको समयसीमाभित्रै साधारणसभा गर्न लागेको महासंघ झापाकी उपाध्यक्ष सुशिला संग्रौलाले बताइन् ।

गत असोज ५ र ६ गते भक्तपुरको नगरकोटमा सम्पन्न केन्द्रीय समितिको बैठकले शाखाको साधारणसभा कात्तिक मसान्तसम्म, महासंघ प्रदेश समितिको साधारणसभा मंसीर १५ गतेदेखि पुस १ गतेसम्म र केन्द्रीय समितिको साधारणसभा पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरेको थियो ।

साधारणसभा सम्बन्धी केन्द्रको निर्णयसहितको सर्कुलर झापा शाखाका सबै सदस्यहरुलाई एक महिनाअघि नै इमेल तथा सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको सचिव लामाले बताए । झापा शाखामा हाल महासंघका साधारण सदस्य दुई सय ६१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया