Online Bichar
शुक्रबार, कार्तिक ०९, २०८१ | Friday, October 25, 2024

झगेन्द्र खड्का
गौरादह, १० साउन २०७९ । हिन्दुहरुको संस्कृति र परम्परा सँग जोडिएको कृष्ण जन्माष्टमीको अवसरमा गौरादहमा राधाकृष्ण रथ यात्रा निकालिने भएको छ। गौरादह नगर स्तरीय रथ यात्रा मुल समारोह समितिले कृष्ण जन्माष्टमीको अवसरमा निकालिने रथयात्राले गौरादह बजार र डिपुचौक क्षेत्र परिक्रमा गर्ने आज(मंगलबार)पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।

गौरादह नगरपालिका वडा नं.१ को सभाहलमा नगर स्तरीय रथ यात्रा मुल समारोह समितिले पत्रकार सम्मेलन गरि कृष्ण जन्माष्टमीका अवसरमा गरिने कार्यक्रम र रथ यात्राको बिषयमा जानकारी गराएको थियो। कृष्ण जन्माष्टमीको दिन निकालिने रथ यात्रामा यस क्षेत्रमा रहेका संघ संस्था, मठ मन्दिर र भजन कृतन मण्डलीका साथै सम्पुर्ण नगरवासीहरुको सहभागीतामा रहने विश्वास रहेको रथयात्रा समितिका सदस्य क्रान्तिदिप काफ्लेले जानकारी गराए।

नगर स्तरीय मुल समारोह समिति संयोजक डा.तिलक खनालले पत्रकार सम्मेलनमा कृष्ण जन्माष्टमीका दिन गौरादह-१ मा रहेको राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु गरि बैगुन्धुरा सडक हुँदै गौरादह बजार परिक्रमा गरि डिपु चौक भएर पेट्रोल पम्प बाट घुमेर पुनः राधाकृष्ण मन्दिर निस्कने लक्ष्य रहेको जानकारी गराए। बिगत १० बर्ष अगाडिबाट रथ यात्रा निकाल्ने कार्य सुरु भएपनि करिब २ बर्ष कोरोना भाइरस संक्रमणका कारण रथयात्रा संचालन हुन नसकेपनि यस वर्षबाट रथ यात्रा संचालन गरिएको जानकारी गराए।

कृष्ण जन्माष्टमीको अवसरमा निकालिने रथ यात्रा अगाडि २७ गते जनैपुर्णिमाका दिनबाट भजन कृतन लगायतका कार्यक्रम संचालन गरिने, भाद्र ३ र ५ गते मन्दिर तथा बजार आसपासका क्षेत्र सरसफाइ गरिने रथ यात्रा मुल आयोजक समिति सचिब सुवास पाण्डेले जानकारी गराए। कृष्ण जन्माष्टमीका अवसरमा निकालिने रथयात्राका दिन बिहान पहिले देखि संचालन हुँदै आएका खेलहरुलाई संचालन गरिने र दिउँसो रथयात्रा निकालिने आयोजक समितिले जनाएको छ।

हिन्दुहरुको संस्कृति तथा पहिचान सँग जोडिएको कृष्ण जन्माष्टमी पर्बलाई भब्यताका साथ मनाउन सम्पुर्ण नगरवासिहरुलाई अपनत्व जगाउन सकिने भएकाले ५ हजार बढी नगरवासीहरु सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। बिगत बर्षहरुमा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको सक्रियतामा रथ यात्रा संचालन गरिएता पनि यस वर्षबाट नगरवासिहरुको सक्रिय सहभागीताका लागि नागरिक स्तरबाट मन्दिर व्यवस्थापन समितिको सहमतिमा रथ यात्रा मुल समारोह समिति गठन गरि रथ यात्रा निकालिने पत्रकार सम्मेलनमा जानकारी गराइयएको थियो। पत्रकार सम्मेलनमा गौरादह जेसिज अध्यक्ष बिनिता कटुवालको सहभागीता रहेको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया