Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ४ साउन २०७९। श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । संसदमा बुधबार भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ । कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेले १ सय ३४ मत पाउनुभएको छ ।

यसअघि पनि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकाको संसदमा २ सय २५ सदस्य छन् । तीमध्ये २ सय २३ जनाले मतदान गरेको र २ सय १९ मत सदर भएको समाचारमा उल्लखे गरिएको छ ।

विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन् । श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो । कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ ।

यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उहाँको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो । त्यस समय डिबी विजेटुंगा निर्विरोध भएकाले मतदान गर्नुपरेको थिएन ।

विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन छ । उहाँलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया