Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ४ साउन २०७९। पश्चिम युरोपमा अत्याधिक गर्मी र तातो हावाको लहरले जनजीवन अस्तब्यस्त बनेको छ ।

बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगल, स्पेनलगायतका देशहरु यति बेला इतिहासकै उच्च तापमानको सामना गरिरहेका छन् । बेलायतको इतिहासमा पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । जंगलहरुमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

डढेलोको तातो हावा शहरसम्म फैलिंदा जीवनयापन कष्टकर बनेको छ । पूर्वी लन्डनको बेनिङटनको जंगलमा लागेको आगो शहरसम्म फैलंदा ८ वटा घर र एउटा चर्च जलेर नष्ट भएका छन् । डढेलोको खरानी मिसिएको धुँवाले श्वास प्रश्वासमा समस्या भएपछि कतिपयलाई अस्पताल भर्ना गरिएको छ । जुलाई महिना सुरु भएदेखि पूरै युरोप गर्मीको चपेटामा परेको छ । स्पेनमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।

जर्मनीमा तापक्रम बढेपछि घरबाटबाहिर ननिस्कन सर्वसाधारणलाई अपील समेत गरिएको छ । पोर्चुगलमा पनि गर्मीका कारण मंगलबार थप केहीको मृत्यु भएको छ । फ्रान्सका ६४ वटा क्षेत्रमा उच्च तापक्रम मापन गरिएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघको विश्व मौसम संगठनले अझै खराब दिनहरु आउन बाँकी रहेको चेतावनी समेत दिएको छ ।

संगठनका प्रमुख पितेरी तालासले आगामी दिनमा यस्ता घटना लगातार बढ्ने भन्दै मानव सिर्जित जलवायु परिवर्तनको समस्याले अझै कष्टप्रद दिनहरु ल्याउने पूर्वानुमान गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया