झगेन्द्र खड्का
गौरादह, १ साउन । कृषि पेशामा आश्रित रहेका किसानहरुले बर्सेनि रासायनिक मलको समस्या झेल्दै आएका छन्। खेती गर्ने समयमा किसानहरुले चाहे अनुसार सहज रुपमा मल पाउदैनन्। खेती गर्ने समयमा राज्यले किसानहरुलाई रासायनिक मल उपलब्ध गराउन नसक्नु बिडम्बना रहेको किसानहरु बताउँछन्।
किसानहरुले रासायनिक मल सित्तैमा मागेका छैनन् लागेको पैसा तिरेर मल लिने गरेतापनि सहज रुपमा पाउन नसक्ता उत्पादनमा समेत रास आउने किसानको भनाइ छ। पैसा बोकेर किसानहरु रासायनिक मल खरिद गर्न मल पाइने ठाउँमा जाँदा पनि पाउदैनन । कृषि प्रधान देश भनिएपनि किसानले राहात नपाउदा कुर्सी प्रधान देश भएको किसानहरुको भनाइ छ।
अधिकांश नागरिकहरु कृषि पेशामा निर्भर रहेकाले तिनै तहका सरकारले किसानको जीवन स्तर उकास्ने कार्यक्रम ल्याउनु पर्ने उनीहरुको माग छ। गाउँमा किसानले उत्पादन गरेको अन्न सहर तथा दुर्गम क्षेत्रमा समेत प्रयोग गरिने भएकाले राज्यले किसानलाई उपेक्षा गर्न नहुने गौरादह- ७ का किसान मित्र बहादुर बस्नेत बताउँछन्। बजारका पसलहरुमा मल पाइन्दैन सहकारी संस्थाहरुमा मल आउने भएकाले दिनैपिछे किसानहरु सहकारी संस्थाको ढोकामा मल आए नआएको बुझ्न पुग्ने गर्दछन्।
रासायनिक मल आएको हल्ला सुन्नसाथ उज्यालो हुन नपाउदै किसानहरु लाइन बस्न पुग्छन।केही किसानहरु पुग्दोमात्रामा मल आएको सुनेर बिस्तारै सहकारी संस्थामा जाने गर्दछन। बिहानै सहकारी पुगेर लाइन बस्ने किसानहरुले रासायनिक मल पाएपनि ढिलो गरि पुग्ने किसान रित्तै फर्कन्छन। सहकारी संस्थामा एकपटकमा ५० देखि ६० बोरा मल आउने गर्दछ २ सय भन्दा बढी किसान मल लिन आउने गर्दछन।मलको मात्रा भन्दा किसानको संख्या बढी भएपछि मलको हाहाकार हुने गरेको छ।
झापाका दक्षिणी क्षेत्रका किसानहरुले बर्सेनि यस्तै समस्या झेल्दै आएका छन।अधिकांश किसानहरुले साइकल लिएर गएका हुन्छन् भने केही किसानले त सिटिसफारी तथा अटो रिक्सा भाडामा लिएर मल लिनका लागि सहकारी पुगेका थिए। मल पाइने आसामा सिटिसफारी तथा अटो रिक्सा लिएर सहकारी पुगेका किसान मल नपाए पछि अटोको भाडा तिरर रित्तो हात फर्कनु परेको छ। मल लिनका लागि सहकारी संस्थाका अगाडि बिहानै देखि लाइन बसेका किसान मल नपाएपछि हैरान भएर फर्कनु परेको गौरादह (४ का किसान बेदु भण्डारी बताउछन् ।
दुख कष्ट गरेर खेती गरेपनि राज्यबाट किसानले सेवा सुबिधा पाउन नसकेको गौरादह -४ का अर्का किसान संकर दाहाल बताउँछन्। राज्यबाट किसानले सेवा सुबिधा पनि पाउदैनन् सरकारलाई कर पनि तिर्नु परेको छ। किसानले उत्पादन गरेको बालिले पनि उचित मुल्य पाउदैन। किसानले अब खेति छोडेर खेतीको बिकल्प खोज्ने समय आएको गौरादह -४ कि किसान कमला देबि भट्टराई बताउँछिन्।
निर्वाचनको समयमा किसानलाई राहात तथा सुबिधा दिने नेताले भाषण गर्ने गर्दछन सत्तामा पुगेपछि बिर्सिने गरेको किसान भट्टराईले बताइन। ताता घाममा हिलोकादो सहेर किसानले खेती गरेपनि समयमा मल बीउ नपाउनु बिक्री गर्ने समयमा उचित मूल्य नपाउदा किसानको हात तल पर्ने गरेको गौरादह -४ का किसान राजन प्रसाईं बताउँछन्।