Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

२७, २०७४ काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन्।

अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन्। विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए। तर यस पटक समानुपातिकमा सिट पाउने दलले न्यूनतम ३ लाख वरिपरि मत ल्याउनुपर्ने छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेका छन्। उक्त तथ्यांक मतदान केन्द्रहरूबाट आएको प्रारम्भिक विवरणबाट तयार पारिएकाले त्यसमा केही थपघट हुन सक्छ। आयोगले ४ देखि ५ प्रतिशत मत बदर हुने अनुमान गरेको छ। निर्वाचन कानुनले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि १.५ प्रतिशत मतको ’थ्रेसहोल्ड’ तोकेको छ। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६०(११) र प्रदेशसभा निर्वाचन ऐनको दफा ६०(९) मा त्यससम्बन्धी प्रावधान उल्लेख छ।

समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रतिनिधिसभाको हकमा ३ र प्रदेशसभाको हकमा डेढ प्रतिशतभन्दा कम मत ल्याउने दलले सम्बन्धित सभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व नपाउने बताए। ‘समानुपातिकको सिट बाँडफाँड गर्दा ’थ्रेसहोल्ड’मा तोकिएभन्दा कम मतलाई जोडिने छैन,’ उनले भने, ‘दलहरूले पाएको ’थ्रेसहोल्ड’ माथिको मतको योगफल निकाली प्राविधिकहरूको सहयोगमा सिट वितरण हुनेछ।’ अहिलेसम्मको गणनाले प्रत्यक्षतर्फ २.५ प्रतिशत हाराहारीमा मत बदर भएको देखिएको उनले बताए।

समानुपातिकतर्फ बदर प्रतिशत केही बढ्न सक्ने उनले उल्लेख गरे। समानुपातिकतर्फ एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र हुनु, ८८ दलको चिह्न मतपत्रमा छापिनु, तर ४९ दलले मात्रै निर्वाचनमा भाग लिनुले मतपत्र लामो भएको छ। गठबन्धन गरेका दलहरूले समेत मतदातालाई राम्ररी बुझाउन नसक्दा समानुपातिकमा बदर बढी हुने अनुमान छ। समानुपातिकतर्फका अर्का सहायक निर्वाचन अधिकृत सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले प्रतिनिधिसभाको हकमा मुलुकभरको र प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशमा दलले पाएको कुल मत जोडेर सिट छुट्याइने बताए।

‘समानुपातिकतर्फ ’थ्रेसहोल्ड’सम्म मत नल्याउने दलले सिट पाउँदैनन्,’ उनले भने, ‘अब समानुपातिकबाट मात्र सिट पाएर संसदमा प्रतिनिधित्व गर्ने दल हुने छैनन्।’ ’थ्रेसहोल्ड’ पूरा गरेका वा त्योभन्दा माथि मत ल्याएका दलको मत स्क्रिनिङ गरी त्यसको मात्रै योगफल निकालिने छ र ’थ्रेसहोल्ड’मुनिको मतलाई गणनामा राखिने छैन।

कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments