Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

चितवन, २८ कात्तिक  । भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयबाट दुई साताअघि अवैध रुपमा काटेर लुकाइएको काठ बरामद भयो ।

प्राकृतिक चिकित्सालयका पदाधिकारीहरुले छिमेकी जलदेवी सामुदायिक वनबाट काठ चोरी गरेर लुकाइरहेको अवस्थामा कात्तिक १२ गते सामुदायिक वनका पदाधिकारीहरुले ५६।११ क्यूफिट सालको काठ बरामद गरेका थिए । बरामद गरिएको काठ सामुदायिक वनको कार्यालय आँपटारीमा छ । विशेष सुराकीका आधारमा काठ बरामद गरिएको वन समूहका अध्यक्ष केशव थापाले जानकारी दिए ।

पवित्र देवघाट जाने क्षेत्रमा बागेश्वरी आश्रम र प्राकृतिक चिकित्सालय छन् यो काठको बजार मुल्य करिव साढे २ लाख रुपैयाँ छ । सालको काठ काठेर त्यसको फेदमा माटोले पोतेको अवस्थामा सामुदायिक वनका पदाधिकारीहरुले काठ फेला पारेका थिए । चिकित्सालयका पदाधिकारीहरुले यसअघि पनि काठको चोरी र तस्करी गर्ने शंका उब्जिएको अध्यक्ष थापा बताउँछन् ।

काठ बरामद भएपछि सामुदायिक बनले तीन सदस्यीय छानबिन समिति गठन ग¥यो । समितिले कात्तिका १८ गते प्रतिवेदन दियो । चिकित्सालयले संस्थागत रुपमा काठ काट्ने निर्णय नगरेको भए पनि चिकित्सालयकै प्रयोजनका लागि काठ काटेको प्रतिवेदनमा उल्लेख छ । चिकित्सालयले त्यहाँका सुपरभाइजर अर्जुन कार्कीले आफूहरुलाई जानकारी नदिइ काठ काटेको बताएका छन् । कार्कीले पनि आफ्नै सुरले काठ काट्न लगाएको झुटो लिखित स्पष्टिकरण दिएका छन् ।

चिकित्सालयका अध्यक्ष शैलेन्द्र पिया हुन् भने कार्यकारी निर्देशक डा। हेमराज कोइराला । अध्यक्ष शैलेन्द्र पियाले काठ काटिएको स्वीकार गरे भने, कार्यकारी निर्देशक डा। कोइरालासँग गत सोमबार सम्र्पक गर्दा मंगलबार चिकित्सालयमा नै भेट्ने बताए । मंगलबार चिकित्सालयमा पुग्दा डा। कोइराला बिदामा बसेको जानकारी दिइयो ।

चिकित्सालयका कर्मचारी अर्जुन कार्कीकै विवरणलाई आधार मानेर सामुदायिक बनले प्रचलित कानुनअनुसार ७९ हजार तीन सय तीस रुपैयाँ जरिवाना गराएर छाडेको छ । कात्तिक १८ गते उक्त रकम चिकित्सालयले नै तिरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले काठ बरामदका बारेमा जलदेवी सामुदायिक वन, डिभिजन वन कार्यालय र बागेश्वरी परिषद्लाई यथार्थ अवस्थाको जानकारी गराउनु भनेको छ । कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालयले काटेको पत्रको जवाफ अहिलेसम्म ती निकायले दिएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठ बरामदका बिषयमा जानकारी मागिएको तर अहिलेसम्म नआएको भन्दै ताकेता भइरहेको बताए । जिल्ला प्रशासन कार्यालयले जलदेवी सामुदायिक वन माथि पनि काठ बरामद र तस्करीको आशंका गरेको छ । ११२ क्युफिट काठ काटिएकोमा ५६ क्यूफिट मात्रै किन बरामद भयो भन्ने प्रश्न सामुदायिक वन माथि प्रशासनले गरेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पनि सामुदायिक वन समूहले घटना मिलाएको भनेर कुरा सुनिएको तर प्रतिवेदन अहिलेसम्म नआएको बताए । सामुदायिक वनबाट प्रतिवेदन आएपछि सोही अनुसार हेरेर कदम अगाडि बढाइने उनको भनाइ छ ।

बागेश्वरी आध्यात्मिक परिषदका कार्यबाहक अध्यक्ष ऋषिराज पाण्डेले वागेश्वरी क्षेत्रभित्र भेटिएको काठका विषयमा आफू अनभिज्ञ रहेको बताए । बागेश्वरी आध्यात्मिक परिषद अन्तर्गत प्राकृतिक चिकित्सालय, गौ संरक्षण, गुरुकुल सञ्चालन गरिएका छन् ।

तपाईको प्रतिक्रिया