Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

इलाम, १४ चैत २०७८ । झापाबाट पूर्वी पहाडका तीन जिल्लालाई तराईसँग जोड्ने मेची राजमार्गको इलाम खण्डमा सडक पुनःस्थापनाको काम अलपत्र परेको छ ।

दैनिक सयौँ सवारीसाधनको आवतजावत हुने राजमार्ग मर्मतका लागि ठेक्का सम्झौता भएपनि पुनःस्थापनको काम अलपत्र परेको हो ।सडक डिभिजन कार्यालय इलामले झापाको सीमावर्ती क्षेत्र चिहानडाँडादेखि पाँचथर र ताप्लेजुङ्गको सीमा क्षेत्र काबेली खोलासम्म सडक पुनः कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएपनि पुनःस्थापनाको काम समयमा नहुँदा दैनिक रुपमा सडक दुर्घटनाको जोखिम बढेको छ ।

सडक डिभिजन इलामले राजमार्ग पुनःस्थापनको कामका लागि गत आर्थिक वर्षमा ७ वटा प्याकेजमा ठेक्का सम्झौता गरेको थियो । ७ वटा प्याकेज मध्ये माईखोला बिब्ल्याँटे प्याकेजको काम मात्रै ९५ प्रतिशत भएको छ । अन्य ६ प्याकेजको काम ३० प्रतिशत मात्रै छ । ठेक्का सम्झौतापछि कोरोना महामारी र मौसम प्रतिकुलका कारण काम नभएपनि चालु आर्थिक वर्षमा सक्ने सडक डिभिजन इलामका डिभिजन प्रमुख बिदुर पोख्रेलले बताउनुभयो ।

चिहानडाँडादेखि काबेली सडक खण्डको एक सय २० किलोमिटर सडक पुनस्थापनाका लागि २६ करोडमा ७ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सडक पुनःस्थापनाको काम ढिलो हुँदा राजमार्गका खल्टाखुल्टि सडक दुर्घटनाका कारक बनेका छन् ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया